काठमाडौं – अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिवार राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘कोअपरेटिभ्सः ड्राइभिङ इन्क्लुसिभ एण्ड सस्टेनेबल सोलुसन फर बेटर बल्र्ड’ भन्ने नाराका साथ विश्वव्यापी रुपमा मनाउन लागिएको दिवसका अवसरमा महासंघले भव्य समारोहको आयोजना गर्न लागेको हो ।
संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय सरकारी वर्ष २०२५को अवसरमा मनाउन लागिएको यसपटकको दिवसलाई ऐतिहासिक अवसरको रुपमा हेरिएको छ । यो दिवसले सरकारीहरुको विश्वव्यापी योगदानलाई उजागर गर्दै समावेशी, दिगो र मानवीय मूल्यमा आधारित विकासलाई जोड दिएको छ ।
नेपालको सन्दर्भमा महिला उद्यमशिलता, युवा सहभागीता र सहकारी सुशासनका एजेन्डालाई प्राथमिकतामा राख्दै दिवस मनाइने जनाइएको छ । कार्यक्रमा देशभरबाट करिब १५० जना सहकर्मी, सरकारी अधिकारी, दातृ संस्था, उद्यमी, सञ्चारकर्मी युवा र महिलाको सहभागिता हुने आयोजनको भनाइ छ । ललितपुरको कुपन्डोलमा आयोजना हुने सभाको उद्घाटन सहकारीमन्त्री बलराम अधिकारीले गर्नेछन् ।