काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका-३ बस्ने सुनसरी धरान उपमहानगरपालिका-३ घर भएका ३४ वर्षीय दिपक कुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका-१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन् ।
पक्राउ मध्ये सुजनी कुमारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनी कुमारी र रेशिकालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा दिपक कुमारलाई काठमाडौं महानगरपालिका- १२ बाट पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनीहरूलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।