बुटवल- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर पौडेल विजयी भएका छन्।
संघको २६औं अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट टंक गैरेलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्।
पौडेलले ८३३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी गैरे ६०१ मतमा सीमित भए।
नवनिर्वाचित अध्यक्ष पौडेलले यस क्षेत्रको उद्योग वाणिज्य तथा व्यवसायीहरूको हक हित र समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले हार-जितलाई स्वाभाविकरूपमा लिनपर्ने बताउँदै सबैको भावनालाई समेटेर सामूहिकरूपमा संस्थाको गरिमालाई ध्यान दिएर काम गर्ने बताए।
संघको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन्। उनले ७२४ मत प्राप्त गरेका छन् भने प्रत्यासी विमलराज भट्टराईले ६९८ मत प्राप्त गरे।
उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठले ७१२ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी निर्मित कसजुले ६९३ मत प्राप्त गरे।
वाणिज्य उपाध्यक्षमा ५९४ मतसहित मुक्तिप्रसाद अधिकारी विजयी भएका छन्।
त्यसैगरी महासचिवमा वसन्तराज ढकाल ७१४ मतका साथ विजयी भएका छन्। कोषाध्यक्षमा टिकाराम बन्जाडे ७३८ मत र सचिवमा दिपकप्रसाद चपागाई ७५२ मत ल्याएर विजयी भएका छन्।
दुई प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेकामा मिश्रित परिणाम आएको छ।