इलाम - इलाम जिल्लाको सुर्योदय नगरपालिका–२ चारमाइलबाट असार १ गते सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा आईतबार पक्राउ परेका हुन् ।
नियन्त्रणमा लिएकाहरुमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षिय अभिनास बोध र ३५ को रवि कुमार छन् ।नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुले बोकेको झोलाबाट १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएको गहना तथा विभिन्न किसिमका मालासहित नियन्त्रणमा लिएको हो ।
सामान बरामद पश्चात सुनचाँदी व्यवसायी संघ बिर्तामोड झापामा ल्याएर परिक्षण गर्दा जलप लगाएको प्रमाणित भएको हो ।नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाईएको छ । उक्त चाँदी तथा सुनको जलप लगाएको गहना कहाँबाट के प्रयोजनको लागि ल्याईएको हो खुल्न सकेको छैन ।