काठमाडौं– तामाङ डाजाङले साँस्कृतिक बाजा डम्फू प्रशिक्षण शुरु गरेको छ । शनिबार काठमाडौंको बिजेश्वरीस्थित तामाङ कुताप धिममा काठमाडौं महानगरपालिका– १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले प्रशिक्षणको शनिबार उद्घाटन गरे ।
पाँच दिनसम्म चल्ने डम्फू प्रशिक्षणका लागि वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष डंगोलले बताए । पञ्चायतकालमा नेपाल भाषा र संस्कृतिका लागि कठोर संघर्ष गर्नुपरेको सुनाउँदै उनले गणतन्त्रकालमा राज्यले नै संरक्षणको क्षेत्रमा लगानी गरेको र स्वयं समुदाय बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा डाजाङका अध्यक्ष फूलकुमार बम्जनले तामाङ संस्कृति र पहिचानलाई जीवन्त राख्न पाँच दिने डम्फू प्रशिक्षण आयोजना गरिएको बताए ।
उद्घाटन समारोहलाई वडा सदस्य मैयाँलक्ष्मी महर्जन, काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा कार्यरत विद्यालय निरीक्षक रश्मी तामाङ, संगीतकार मिलन मोक्तानलगायतले सम्बोधन गरेका थिए ।
सहभागीहरूलाई पवनवाङ लामा र डाजाङका अध्यक्ष बम्जनले प्रशिक्षण दिइरहेका छन् । डम्फूलाई तामाङका पूर्वज पेङदोर्जेले निर्माण गरेको कथन छ । तामाङ जातिको साँस्कृतिक जीवन पद्धतिमा डम्फू अनिवार्य मानिन्छ ।