रमिला भाउजु निकै खुसी देखिएकी छिन् । किनकि उनलाई पञ्च भेलाले गाउँका हरेक आर्थिक गतिविधि नियाल्ने जिम्मेवारी दियो । रमिला भाउजु गाउँका हरेक गतिविधिमा संलग्न नभए पनि आफ्ना चम्चे र हुक्के, झोलेहरुलाई निगरानी गराउन पठाउँथिन् ।टोल सुधार समितिदेखि विद्यालय व्यवस्थापन समितिमासमेत उनकै हालिमुहाली थियो । सामुदायिक वन संरक्षणका नाममा गरिने रुख तस्करीमा त कुरै छाडौं । भाउजुको मुख्य भूमिका नै छ । उता नहरको पानीमा गढबढ पनि भाउजुकै निर्देशनमा चल्ने गर्दथ्यो ।
भाउजु यति चल्दापुर्जा छिन् कि भाइले मिलको बिजुलीको पैसा तिर्न त परै जाओस् एउटा लाइन त सीधै पोलबाट मेसिनमा । कहिलेकाहीँ बिजुली अड्डाबाट अनुगमन गर्न आउँदा सीधै बत्ती चोरी त भन्दैनथे कानुनविपरीत भयो भन्दा बिजुली अड्डाको हाकिमको नै सरुवा हुन्थ्यो ।यति धेरै ‘पावरफूल’ भाउजुले त्यत्ति जाबो जिम्मेवारी पाउँदा पनि छिमेकीहरुले रिस गरेर हैरान छ । चिया पसलमा बेरोजगार युवादेखि चौतारामा गफिने ज्येष्ठ नागरिकहरुबीच चर्चा भाउजुकै हुने । चौतारीमा गफिँदै गर्दा अर्जनु काकाले भन्दै थिए– ‘होइन हो हरि ती रमिलालाई किन पञ्चभलाद्मीले त्यस्तो जिम्मेवारी दिएका हुन् के ? पोहोर डाँडागाउँकी साइँलीकी छोरीलाई मुम्बई पु¥याएर आएको आरोप लाग्या थ्यो त ।’
‘कुरा त ठीकै हो दाजै तर के अर्नु यी पञ्चभलाद्मी भन्ने कि पञ्चस्वाँठ भन्ने ! यस्ताका कुरा हामीले मानिदिनुपर्ने छ । रमिलाले के–के मात्र उपद्रो गरेकी छिन् भन्ने कुरा त दुनियाँलाई थाहा छ नि । तै पनि खै त झ्यालखाना लानुपर्नेलाई उल्टै त्यसरी ‘नाइके’ बनाइदिएका छन् हुतिहाराहरुले,’ हरिले अर्जुनलाई भने । ‘अनि नेपाल बाजेका छोराले त उता कारखानाका लागि सरकारी नियम नै धोती लगाइदिएका रै’छन् त गाउँ पञ्चायतको अध्यक्ष भाका बेलामा ।’ फेरि अर्जुन काकाले हरिलाई सोधे । ‘छाडिदिउँ है दाजु यी ज्यानमाराहरुको कुरा । यिनका कुरा गरेर कति आयु बढाइदिनु ! नपाउनेले के पायो केरैसमेत चपायो भन्थे त्यस्तै हो ।
विचरा त्यो गल्ती नै नगरेको बागेश्वरी दाइको कान्छोलाई यिनी पञ्चस्वाँठहरुको मिलेमतोमा झ्यालखाना पु¥याएका छन् । गल्ती गर्ने अरु दुःख भोग्दै छ, त्यो विचरो बागेश्वरी दाइको कान्छो ।’‘त्यही त हाम्रो देशको कानुन पनि कस्तो–कस्तो नुन नहालेको तरकारी जस्तो ।’ अर्जुन काका बोले । ‘हो दाइ, नेपालको कानुन जसले बनाउँछ उसैले जानुन् भनेको त्यही भएर रहेछ । वन बेच्ने नेता, माटो बेच्ने नेता, मान्छे बेच्ने नेता, नदी र सीमा बेच्ने नेता अनि हामी जनता यता न उता ।’ ‘त्यही त कुरै नबुझी दौडिने हामी पनि त हौ नि ? ‘हामीले छान्ने बेला त्यही रमिलाका जोइपोइजस्तालाई छान्छौं अहिले पुर्पुरोमा हात राखेर के गर्नु ?’ अर्जुन काकाले भने ।
‘त्यस्तो होइन हो । उनीहरुको नाइके उनीहरुले नै बनाउँछन् । रमिलाका पोइ श्रीधरेलाई हामीले नचिनेको हो । माथिदेखि तलसम्म उस्तै छ । नेताका स्वास्नीहरु सबै नेता भएर भत्ता हसुरेका छन् । अनि हामीले स्वीकारेका छौं त,’ हरिले स्पष्ट पारे । ‘त्यही त अचम्म छ के ! यही श्रीधरे नै हेरौं । ग्राम पञ्चायत यसलाई पो जिताका हुन् त तर त्यसकी जहान कसरी पदमा पुगिन् ?’ हरि हाँसे– ‘हत्तेरीका दाइ यति जाबो कुरा पनि कस्तो बुझ्नुभाको हो । शिरदेखि नै त्यस्तै चलन छ । कसैका जहान, कसैका छोरीज्वाइँ, छोरा यस्तै यस्तैले त हो नि पद पाउने, जिम्मेवारी पाउने । जति नै दुष्कर्म गरे पनि झ्यालखाना नै जानुपर्ने काम गरेको भए पनि यिनलाई छुट हुन्छ !’
‘हैन त्यस्तो पनि कानुन हुन्छ त ? कसैलाई काखा कसैलाई पाखा गर्ने !’ अर्जुनले फेरि सोधे ?‘हुन्छ । अहिलेको नेपाल भनेकै यही हो सानालाई ऐन ठूलालाई चैन भन्छन् नि । ठूलाले जति नै अपराध गरे पनि दाइभाउजु भनेरै मिल्छ तर देवरहरु त हिस्सै हुन् । बागेश्वरी दाइको कान्छो होस् कि दुर्गेको छोरो रवीन्द्र होस् । अपराध नगरे पनि अपराधी हुन्छन् । अहिले त समय नै भाउजुको छ हो भाउजुको । देवरहरु त उही हो । रमिला भाउजु हेरे पुगि गो अन्त टाढा जानै पर्दैन ।’
‘किन यस्तो भाको होला हो हाम्रो गाउँ ? यति सुन्दर र सबै मिलेर बसेको गाउँमा दुई–चार जना बज्रस्वाँठहरुले खै के गरे गरे । यिनकै कारण वनमा कोइली कराउन छाडे । पाखामा बाख्रा चर्न छाडे, तल बेसीँमा खल खेत नै बाँझियो ।’ अर्जुन काका विरक्तिए । विरक्तिएका अर्जुन काकालाई ढाडस दिँदै हरि भन्छन्, ‘अब किन चिन्ता गर्छाैं हो दाइ । छोराछोरी विदेश पठाका छँदै छौ । गाईगोठ रित्तो भइहाले । छ महिना यता छ महिना उता गरे भैगो नि ।’
‘तिमीले भनेजस्तो कहाँ सहज छ र । अर्काको भूमिमा बस्न सकिनँ हो म त । ऊ बेला एकपटक जाँदा नै वाक्क भएर फर्केको । एक्लै भएपनि आफ्नै गाउँ नै ठीक छ । खाली ठूलालाई चैन सानालाई ऐन भएर मात्र हो ।’‘साँँच्चै ती नेपाल बाजेका छोरालाई झ्यालखाना लान्छन् कि लाँदैनन् ? त्यत्रो जग्गामा काण्ड गरेका रै’छन् त,’ अर्जुन काकाले जिज्ञासा राखे ।
‘जाँदैनन् हो जाँदैनन् ! न नेपाल बाजेका छोरा जान्छन् । न त मान्छे तस्करी गर्ने भाउजुहरु नै झ्यालखाना जान्छन् ! ठूलाबडा भनाउँदाहरुलाई नेपालको कानुनले छुँदै छुँदैन ! कानुन त उही सानाका लागिमात्र हो । देशै बेचे पनि यिनीहरु सर्वश्रेष्ठ प्राणी हुन् । कानुनले खोज्दैन ! ज्यानमारा, तस्करी, मान्छे बेचुवा, कर छलुवा, व्यापारीले चलाएको देशमा उनीहरुले भनेका मान्छेले बनाएको कानुनमा न्याय मरिसक्यो । अब न मानव तस्करीमा परेका झ्यालखानामा जान्छन् । न भ्रष्टाचारी कठघरामा उभिन्छन् । सोझा सिधा सानो गल्ती गर्नेहरु गरिवहरुका लागि मात्र हो झ्यालखाना । सानालाई ऐन, ठूलालाई चैन । त्यसै भनिराको हो र ? ल भैगो छाडिदिउँ यस्ता कुरा । घाम ढल्कन थाले जाउँ अब । बाँकी कुरा भोलि गरौंला ।’
दुवै उठ्छन् । कताबाट गुलेलीबाट हानेको मट्याङ्ग्रा लागेर रुखका गुँडबाट चौतारामा दुईवटा भँगेर फुत्रुक्क झर्छ । भँगेरा चौतारामा छट्पटिन्छ । त्यो देखेर अर्जुन काका भन्छन्, ‘लौ हेर, यस्तै हो हाम्रो जिन्दगी पनि ।’
दुवै आफ्नो बाटो लाग्छन् ।