काठमाडौं - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने बताएका छन् । प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने उनको भनाइ छ ।
‘अँस्ती प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो,’ आज काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले भने, ‘भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो ।’
उनले जोड दिँदै भने, ‘लाने हो, यसपालि टुंग्याएरै छोड्ने हो । त्यही हिसाबले हाम्रो मिहिनेत बढाऔं ।’उनले आन्दोलनमा आफूमात्र नभई सिंगो परिवार नै लिएर आउन आह्वान समेत गरे । सकेसम्म छरछिमेक र आफन्तलाई पनि लिएर आन्दोलनमा आउन र नसके घरमा ताला लगाएर सपरिवार आउन उनले अनुरोध गरे । ‘हाम्रो मिहिनेतलाई बढाऔं, हाम्रो क्रियाकलापलाई बढाऔं, हाम्रा छरछिमेकहरुलाई, आफन्तहरुलाई जेठ १५ गतेदेखि हुने आन्दोलनमा सहभागी हुन प्रेरित गरौं,’ अध्यक्ष लिङ्देनले भने, ‘आन्दोलनमा एक्लैएक्लै आइन्थ्यो भने यो चोटी आफ्नो सिंगै परिवार लिएर आऔं ।’
उनले पटक–पटक आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए । यसअघि चैत १५ गते काठमाडौंको तिनकुनेमा राप्रपा समेत सहभागी राजावादीहरुको प्रदर्शन हिंसात्मक भएको थियो । तर यसपालिको प्रदर्शन शान्तिपूर्ण हुने र निरन्तर चलिरहने लिङ्देनले बताए ।
आन्दोलनको अनुगमन गर्न मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई पनि आग्रह गर्ने उनले बताए । यो आन्दोलन आम देशबासीको हो भन्दै उनले भने, ‘यो देश बचाउने र बनाउने आन्दोलन हो । त्यसकारण सबैले योगदान गरौं भनेर यो आन्दोलनमा सबैलाई राष्ट्रिय झण्डाको मुनि लपेटेर ल्याउन मिहिनेत गरौं ।’