- हप्तौंदेखि ग्यास अभाव, आपूर्ति व्यवस्थापनमा चुक्यो सरकार
- शनिबारदेखि काठमाडौंका विभिन्न स्थानबाट सरकार आफैंले बेच्न थाल्यो ग्यास
- सरकारी बिक्री केन्द्रमा पनि उपभोक्ताको भीड, पानीमा भिज्दै लाइनमा बसेका उपभोक्ताले साँझ ग्यास नपाएको गुनासो
- एक सिलिण्डर ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सरकारको आलोचना
- एकैचोटी माग बढ्दा ग्यास अभाव देखिएको दाबी
- दीर्घकालीन सुधारको तयारीमा रहेको सरकारको दाबी
काठमाडौ- खाना पकाउने एलपी ग्यासको अभाव हप्तौंदेखि कायम रहँदा उपभोक्ताको सास्ती झन् बढेको छ । रित्तो सिलिण्डर बोकेर डिपो, उद्योग र बिक्री केन्द्र धाउँदा पनि ग्यास नपाएपछि उपभोक्ता बिहानैदेखि घण्टौं लामो लाइनमा बस्न बाध्य छन् ।
बजारमा ग्यास सहजरूपमा उपलब्ध गराउने सरकारको पटक-पटकको बाचापछि पनि समस्या समाधान हुन सकेको छैन । ग्यासको खोजीमा उपभोक्ता दिनभर धाउनुपर्ने र घण्टौं लाइन बस्नुपर्ने अवस्था कायमै छ । चाबहिल बस्ने भोजपुरकी प्रमिला राईले चाबहिलस्थित यातायात कार्यालयबाट ग्यास वितरण हुन थाले पनि शनिबार आफूले ग्यास नपाएको बताइन् । दिउँसो १२ बजेतिर बिक्री केन्द्र पुगेकी उनी साँझसम्म लाइनमा बस्दा पनि रित्तै फर्किइन् । ‘म दिउँसो त्यस्तै १२ बजेतिर गएको थिएँ, साँझ ६ बजेसम्म पनि पाइनँ र त्यसै फर्किएँ । भीडमभीड छ,’ उनले प्रभावसँग भनिन् ।
जनतालाई ग्यास उपलब्ध गराउन असफल बनेको वालेन्द्र सरकार शनिबारदेखि आफैं ग्यास बेच्न थालेको छ । नेपाल आयल निगमले काठमाडौंका विभिन्न स्थानमा सरकारी निगरानीमा प्रत्यक्ष बिक्री सुरु गरेको हो । निगमले टेकुस्थित आफ्नो परिसर, चाबहिलको यातायात कार्यालय, कीर्तिपुर र बसुन्धराको राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट शनिबार ग्यास बिक्री गरेको थियो । ती बिक्री केन्द्रबाट छ हजार ८०२ सिलिण्डर बिक्री गरेको निगमले जनाएको छ ।
तर, मागको तुलनामा आपूर्ति व्यवस्थापन गर्न नसक्दा केही बिक्री केन्द्रमा सिलिण्डर अपुग भएको थियो । समयमै बिक्री केन्द्र पुगे पनि ग्यास पाउन नसकेका उपभोक्तालाई कुपनमार्फत आज (आइतबार) पहिलो प्राथमिकतामा राखेर सिलिण्डर उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ ।
आज पनि काठमाडौं उपत्यकाका सात स्थानबाट ग्यास बिक्री गरिने निगमले सूचनामार्फत जानकारी दिएको छ । निगमका अनुसार टेकु, चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरको राधास्वामी परिसर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट ग्यास बिक्री हुने छ । एक सिलिण्डर ग्यास लिनका उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । बिक्रीको समय बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।
सरकारले बिक्री केन्द्र थपेर प्रत्यक्ष रूपमा ग्यास वितरण गर्न थाले पनि मूल समस्या भने समाधान हुन सकेको छैन । नियमित डिपोबाट ग्यास नपाएपछि सरकारी बिक्री केन्द्रमै उपभोक्ताको लामो लाइन लाग्न थालेको छ । शनिबार ठूलो झरीमा भिजेर उपभोक्ता दिनभर लाइनमा बसे पनि ग्यास नपाएपछि आक्रोशित बनेका छन् । निगमका अधिकारीहरूले बजारमा देखिएको असहजताको मुख्य कारण मागमा आएको अचानक वृद्धि भएको बताएका छन् । पश्चिम एसियामा द्वन्द्व सुरु भएपछि ग्यास आपूर्ति प्रभावित हुन सक्ने आशंकामा निगमले सुरुमा आधा सिलिण्डरमात्रै बिक्री गर्ने व्यवस्था गरेको थियो । त्यो व्यवस्था करिब चार महिनासम्म कायम रह्यो । त्यस अवधिमा घरमा ग्यास सकिए पनि धेरै उपभोक्ताले तत्काल सिलिण्डर भर्न पाएनन् ।
पछि आपूर्ति सहज भएको भन्दै भरी सिलिण्डर बिक्री गर्न थालेपछि लामो समयदेखि रोकिएको माग एकैपटक बजारमा आएको निगमको बुझाइ छ । निगमका अनुसार एउटा सिलिण्डर भएका उपभोक्ताले दोस्रो र दुईवटा भएका उपभोक्ताले तेस्रो सिलिण्डरसमेत भर्न खोजेपछि बजारमा अस्वाभाविक चाप परेको हो ।
यद्यपि, अहिले ग्यास आयातमा समस्या नरहेको निगमको भनाइ छ । नेपालमा खपत हुने सबै एलपी ग्यास भारतबाट आयात हुन्छ । सामान्य अवस्थामा दैनिक ९० देखि ९५ बुलेट ग्यास आयात हुने गरेकोमा पछिल्लो समय त्योभन्दा बढी ग्यास भित्रिरहेको निगमको दाबी छ ।
सरकारले भारतबाट ग्यास आयात थप बढाउनसमेत पहल गरेको छ । हाल मासिक ४९ हजार ५०० मेट्रिक टन ग्यास आयात भइरहेकोमा त्यसलाई बढाएर ६० हजार मेट्रिक टन पु¥याउने परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।
उपभोक्ताको प्रश्न- ग्यास कहाँ छ ?
सरकारले ग्यासको आयात बढेको बताएको छ । नेपाल आयल निगमले बजारमा पर्याप्तभन्दा बढी सिलिण्डर पठाएको दाबी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमन र कारबाही तीव्र बनाएको जनाएको छ । ग्यास उद्योगहरूले पनि आपूर्ति नियमित रहेको बताइरहेका छन् ।
यद्यपि, यी सबै दाबीबीच उपभोक्ताले ग्यास पाएका छैनन् । सरकारसमक्ष उनीहरुको प्रश्न छ- ग्यास कहाँ छ ? हप्तौंदेखि रित्तो सिलिण्डर बोकेर डिपो धाइरहेका उपभोक्ताले सहजरूपमा एउटा सिलिण्डरसमेत पाउन नसक्नुले सरकारी आपूर्ति व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । आयात, भण्डारण र वितरणमध्ये समस्या जहाँ भए पनि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।
नेपाल उपभोक्ता मञ्चका महासचिव विश्व तिमिल्सिनाले पर्याप्त ग्यास आयात भइरहेको हो भने त्यो ग्यास कहाँ गयो भन्ने प्रश्न उठाएका छन् । उनका अनुसार एउटा वा दुईवटा सिलिण्डर भएका घरायसी उपभोक्ता अनावश्यकरूपमा घाममा लाइन बस्न जाने अवस्था हुँदैन ।
‘एक-दुई दिन होइन, थुप्रै हप्तादेखि उपभोक्ताले ग्यास अभाव झेलिरहेका छन्, तर वितरण सहजरूपमा भइरहेको छैन । पूरै नागरिकलाई सास्ती छ,’ उनले भने । ग्यास वितरणमा देखिएको समस्या दुई दिनभित्र सहज बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बताएकी छन् । मन्त्री यादवका अनुसार प्रधानमन्त्रीले बिहीबार ग्यास आपूर्तिको अवस्थाबारे चासो राख्दै तत्काल वितरण प्रणाली सहज बनाउन निर्देशन दिएका थिए । त्यसपछि मन्त्रालयले काठमाडौंका थप २५ वटा केन्द्रबाट सरकारी निगरानीमा ग्यास वितरण गर्ने तयारी गरेको छ ।
हप्तौंदेखि ग्यास अभाव देखिएपछि सरकारले तत्काल समस्या समाधानसँगै दीर्घकालीन सुधारको आवश्यकता पनि स्वीकार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले अहिलेको संकट समाधान भएपछि समस्या बिर्सन नहुने बताएका छन् । आगामी दिनमा यस्तो अवस्था दोहोरिन नदिन ग्यास वितरण प्रणालीमै सुधार आवश्यक रहेको उनको भनाइ छ ।
नेपालमा विभिन्न ब्राण्डमा ग्यास बिक्री गर्ने ५८ वटा उद्योग छन् । सरकारले अब ग्यास उद्योगहरूलाई मर्जरमा लैजाने नीति अघि सार्ने तयारी गरेको छ । उद्योगीहरूले पनि लामो समयदेखि मर्जरको माग गर्दै आएको बताएका छन् । त्यस्तै, घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै सिलिण्डरको व्यवस्था गर्नुपर्ने विषय पनि उठेको छ । अहिले घरायसी उपभोक्ता, होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानले कति सिलिण्डर राख्न पाउने भन्ने स्पष्ट मापदण्ड छैन । सरकारी अधिकारीहरू नै यस्तो मापदण्डको अभाव रहेको स्वीकार गर्छन् । यही कारण मौज्दात र वितरणको विषयमा पटक-पटक विवाद उत्पन्न हुँदै आएको छ ।
ग्यासमा भारतमाथिको पूर्ण निर्भरता घटाउन सरकारले विद्युतीय चुलो, इण्डक्सन र इन्फ्रारेड प्रविधिलाई प्रोत्साहन गर्ने तयारीसमेत गरेको छ । तर तत्काल भने उपभोक्ताको समस्या ग्यासकै हो । रित्तो सिलिण्डर बोकेर बिक्री केन्द्र धाउने, घण्टौं लाइन बस्ने र अन्ततः ग्यास नपाएर फर्किनुपर्ने अवस्था अझै हटेको छैन ।