भक्तपुर- भक्तपुरमा ‘बागमती प्रदेशस्तरीय आमन्त्रण मेयरकप कराते प्रतियोगिता’ आयोजना हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सूर्यविनायक नगर सितोरियो कराते सङ्घले यही जेठ ९ र १० गते प्रतियोगिता आयोजना गर्ने भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतियोगिता संयोजक रामशरण त्वातीले मेयरकप प्रतियोगितामा करिब १० स्थानीय तहका विभिन्न समूहको सहभागिता रहने जानकारी दिँदै भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्यविनायक, बूढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरि, काठमाडौँ र गोदावरी नगरपालिकाबाट सहभागिता हुने बताउनुभयो । अन्य पालिकालाई पनि सहभागी गराउँदै जाने उनले उल्लेख गरे ।
प्रतियोगितामा महिलातर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी र काता विधामा सात वटा छुट्टाछुट्टै प्रतिस्पर्धा गरिनेछ भने पुरुषतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी र काता विधामा आठ वटा इभेन्टहरू आयोजना गरिनेछ ।
प्रतियोगिता खेलको अन्तरराष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिने जानकारी दिँदै आयोजक सङ्घका अध्यक्ष कृष्णराम जाकीबञ्जारले प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय रेफ्रीहरूले निर्णयकारी भूमिका निर्वाह गर्ने बताए ।
प्रतियोगिताको समापनमा हरेक तौल समूहका विजेता खेलाडीलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ । समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई विशेष सम्मानस्वरूप ट्रफी प्रदान गरिनेछ । कातातर्फ पनि उत्कृष्ट प्रदर्शनका लागि पुरस्कारको व्यवस्था गरिएको छ ।