डम्बरे काका ताली पाइएन भन्दै रुञ्चे अनुहार लिइरहेका थिए । पटक–पटक संस्थाको अध्यक्षमा बसेका उनले काम पनि खासै गरेका होइनन् । त्यही भएर पनि ‘नहुनु मामाभन्दा कानो मामा बेश’ भनेजस्तै उनका अनुयायी सदस्यहरुले उनलाई स्वीकार गरिरहेका थिए ।
डम्बरेको डमरू बजेको सुन्ने चाहना कसैका पनि थिएन । सबै आ–आफ्नै काममा भए पनि उनको कुरा नसुनी धरै नपाउने । तर पनि डम्बरे काकाको गफ सुन्न भने निकै लालायित पनि हुन्थे । उनले गफ गर्दा पनि हरेक कुरालाई हास्यको पात्र बनाइदिन्थे त्यही भएर उनको गफ सन्देश लागिभन्दा पनि हाँस्नका लागि निकै नै रमाइलो हुन्थ्यो ।
‘सबैका आ–आफ्नै विशेषता हुन्छन् नि’ डम्बरे आफैं बखान गर्थे । ‘यसरी तपाईंहरुलाई सुनिरहँु लाग्नेगरी गफ दिनु नै मेरो विशेषता हो । पत्याउने नपत्याउने भन्ने कुरा त तपाईंकै मर्जी ।’उता चौताराको माहोल अर्कै थियो । पिपलको बोटमुनि बसेर पनि असत्य, अधर्मी कुरा सुन्नुपर्ने । झूठलाई सत्य मानेर ताली ठोकिदिनुपर्ने ! ‘दिमागचाहिँ खाली यिनलाई चाहिएको छ ताली’ प्रद्युम्नले सँगैका साथीलाई सुनाउँदै थिए ।
प्रद्युम्नको कुरा सुनेर उनीसँगै बसेका बालकृष्ण खित्का छाँडेर हाँसे । उता डम्बरे काकाको भाषण पुराण सुनेजस्तै एकाग्र गरी सुनेर बसेकी ममता भाउजुको एकाग्रता भंग भएछ क्यारे । आँखा तरेर हेर्दै, ‘कस्ता होउ तिमेरु बाँदरजस्ता भाको ! यो उमेरमा पनि आफू पनि सुन्नु छैन अरूलाई पनि सुन्न दिनु छैन ।’
डम्बरेले के भन्दै थियो थाहा त थिएन । तर भाउजुको कुराले बालकृष्णले ताली ठोक्यो । बालकृष्णले किन ताली ठोक्यो भन्ने कसैले भेउ नै नपाई त्यहाँ वसेका सबैले तरऽऽरऽ ताली बजाए । ताली सुनेर डम्बरे अझै उत्साहित भयो । उसलाई लागेको थियो– मैले दिएको भाषणमा सबै दंग परे । समर्थनमा ताली बज्यो ।
ऊ अझै हावादारी गफ दिन थाल्यो । लामो भाषण सुनेर दिक्क भइसकेका प्रद्युम्नले फेरि बालकृष्णलाई भने, ‘होइन हो भाइ, यसले कति गफ दिएको । हामीलाई यसको बारेमा थाहा नै नभएको जस्तो गरी देको छ देको छ । रिस उठ्न थालिसक्यो । ढुंगा उठाएर पुर्पुरोमा हान्दिउँ जस्तो लागिसक्यो भन्या !’
हैट, प्रद्युम्न दाइ के कुरा गरेको हो तपाईंले ? अब त तपाईं पनि ढुंगा उठाउनु कुरा गर्नु हुन्छ यो उमेरमा आएर ! अब समयले जस्तो माग्यो त्यस्तै गर्नु पर्ने अवस्था आयो त । यो डम्बरेका कुरा कति सालदेखि सुनेको हो केही उपलब्धि छ । तात्तो न छारो कुरा गरेको छ । मानिसलाई बेवकुप बनाउने कामबाहेक केही गरेको होइन ।
उता डम्बरे दाहिने हातको चोरी औंला ठड्याएर चर्किंदै थियो । अब यस्तो हुन्छ । त्यसपछि यस्तो हुन्छ । मानौं कि उसले ज्योतिष शास्त्रको पनि पारंगत प्रमाणपत्र हासिल गरिसकेको छ । कसको प्रभाव परेको हो कुन्नि नेपाली उखान टुक्का पुस्तकमा भएजति सबै टुक्का हान्दै थियो । यता प्रद्युम्न उमेरले ६० नाघिसकेका भए पनि जोस भने ४० वर्षकै जस्तो देखिन्थ्यो । होइन हो बालकृष्ण, तिम्रो छेउमा भएको त्यो ढुंगाको टुक्रा देउन मेरो हातले भेटेन । यो बकमफुसे डम्बरेको तालुको टुटुल्को उठ्ने गरी हान्दिन्छु !
ममता भाउजुले यी दुईको कुरा पनि पनि उत्तिकै ध्यान दिँदै थिइन् । हेर हेर यो उमेरमा आएर पनि टुटुल्को उठाउने गरी हान्छु भन्छन् बाई । पापको पोको ! भाउजुले डम्बरेतिर आँखा डुलाउँदै प्रद्युम्नलाई भनिन् । ममता भाउजुको कुराले फेरि बालकृष्ण हाँस्यो । ‘होइन हो भाउजु, यस्ताका कुरा सुनेर किन बेकारमा ‘प्रेसर हाई’ गराउनुहुन्छ । सुन्नुस् उडाइदिनुस् । अब प्रद्युम्नलाई यसका कुरा मन परेन बजाइदिन्छु भने । ठीकै त हो नि ।’
ममता भाउजुले फेरि भनिन्, ‘जे भए पनि हामीले मानेका मान्छे हुन्छ, हामीले नै अध्यक्ष बनाएका हौं । बुद्धि नभए पनि दिमाग खाली भए पनि पदको त सम्मान गर्नुप¥यो नि । मान्छे मन नपरे उ बेला किन थापाजीको पसलमा चिया हान्दै उसैलाई अध्यक्ष बनाउने कुरा गरेका थियौ त ?भाउजुको वचन निकै नै रोचक थियो । मन नपर्ने भए पनि किन अध्यक्ष छानेको । कुरा त ठीकै हो नि कि कसो ? ताली ! ताली ! प्रद्युम्नतर्फ हेर्दै बालकृष्णले फेरि ताली बजाए ।
अब ममता भाउजुको कुरामा समर्थन पाएपछि भाउजुले पनि ताली बजाइन् । यी दुईको तालीले सुनेर आएका जति सबैले ताली बजाए । डम्बरे बिचरा फुरुंग । अझ डम्बरेका आसेपा भिजिलान्तेहरुको त कुरा नै नगरौ एकै छिनका दिमाग खाली भएकाका लागि ताली टरऽरऽर बज्यो ।
चौतारीमा अगाडि बसेकाहरुले ताली बजाएपछि पछाडि बसेकाले त बजाउने नै भए । डम्बरेले भाषण गरिरहँदा अगाडि आप्mनै तालमा ताली बजाउने र उनीहरु पछाडिको केही लाइनमात्र थिए । उनीहरु पनि कुरै नबुझी ताली बजाइरहेको थिए । तर सुरूमा जति गाउँलेहरु थिए । ती सबै विस्तारै–विस्तारै फर्किसकेका थिए । पछाडि बसेका मानिसहरु हिँड्न थालेपछि डम्बरेका अर्का साथी रुद्र रिसले चुर भइसकेको थियो । किनकि उसले भाषण गर्ने मौका नै पाएको थिएन । डम्बरेको लामो भाषणले धेरै मासिनहरु पाखा लागिसकेको थिए । उसको भाषण सुन्ने मानिस नै नहुने भए पनि ऊ रिसाउनु स्वाभाविक पनि थियो । तर डम्बरे भाषणा छाड्ने छाँटकाँट नै देखिएन ।
कालो टोपी कालै चस्मा र कालै कोटमा बसेको रुद्रलाई झ्वाँक चले छ । ऊ सरासर डम्बरेको छेउमा गएर भन्यो– ‘होइन हो बज्रस्वाँठ । यहाँ तिमी मात्र बोल्ने हो कि हामीले पनि बोल्ने हो । तिम्रा यस्ता कुराले गर्दा सबै मानिस उठेर हिँडिसके जाऊ गएर बस ।’ रुद्रले माइक खोसेर डम्बरेलाई उता धकेली दियो ।रुद्र पनि उही ड्याङको मूला त हो । आफ्नोभन्दा बढी डम्बरेकै कुरा काटेर भाषण गर्न थाल्यो । ‘जसको दिमाग छैन उसैले बढी गफ दिन्छ हो ।’ अरुले पनि ताली खानुप¥यो नि । मान्छे सकिएपछि कसले बजाउँछ ताली हो कि होइन ल भन्नुस्,’ उल्टै सोध्यो । रुद्रेको कुरा सुनेर फेरि अगाडि बसेकाले ताली बजाए । यता ताली बजाउने उता भाषण दिने ।
दिमागचाहिँ सबैको खाली अनि फेरि यिनीहरुलाई नै चाहिने ताली । अब त ताली होइन दिनुपर्छ गाली । प्रद्युम्न जुरुक्क उठे अनि बालकृष्णको देब्रे हात तानेर बाटो लागे ।