धर्म गर्न मानिसहरू मन्दिर जाने गर्छन् । तीन धाम, चार धाम... कता कता । धर्म पनि के–के हो के–के ! एउटै धर्मभित्र पनि विभिन्न रूप । कोही शिवका भक्त, कोही कृष्णका, कोही रामका, कोही हनुमानका, कोही देवीका... यस्तै यस्तै । कोही हिन्दू, कोही बुद्धिष्ट, कोही मुश्लिम, कोही क्रिस्चियन, कोही यहुदी, कोही जैन, कोही के कोही के । जे होस् धर्ममा मन नहुने कमै छन् ।
पशुपतिनाथ मन्दिर पुग्ने होस् कि स्वयम्भू । मस्जिद पुगोस् कि चर्च, जहाँ पुग्ने पनि धर्म गर्न गाको भन्छन् । तर धर्म गर्न जानेहरूले आफ्नो मठमन्दिर जे–जे छ, ती क्षेत्रमा पुग्दा आफ्नो भलो होस् या इच्छा पूरा होस् भन्ने कामना गर्छन् । आफ्नो मनोकामना पूरा गर्न पुगेको ठाउँलाई दूर्गन्धित बनाएर आफूले मान्ने भगवान् वा देउतालाई फोहोरले घेरिदिन्छन् ।
बागमती होस् कि विष्णुमती, यमुना नदीदेखि गंगा सागरसम्मको अवस्था हेर्ने हो भने जो–जो जहाँ पुगे पनि पापी मन देखिँदो रहेछ । बागमतीको शिरबाट बागद्वार बगे पनि जब हिन्दूहरूको पवित्रस्थल पशुपतिनाथ परिसर र त्यही बग्ने बागमतीले प्रस्ट पार्छ । बागमतीमात्र हैन, केही समयअघि भारतमा भएको महाकुम्भ मेलामा गंगामा देखिएको फोहोर अनि सबैले आनन्द महसुस गर्ने ध्यान योग र धार्मिकरूपमा निकै महŒवपूर्ण मानिएको वृन्दावन परिसर भएर बग्ने यमुना नदीको कहालिलाग्दो अवस्थाले बागमतीदेखि यमुना नदीसम्म पनि पापी मन देखिन्छ ।
यमुना नदीको किनारामा मस्त घाममा पल्टिएर बसेका हिरालाल काकाको अनुहारमा खुसी थिएन ! खुसी लिन आएका काकाको मन दुखित थियो । काकाको अनुहारमा चमक नदेखिएपछि काकालाई मैले सोधें, ‘काका के भो यस्तो ठाउँमा आएर पनि निराश देखिनुभएको छ, के चिन्ता प¥यो ?’ काका बोल्न सकेनन् । फेरि मैले दोहो¥याएर सोधे भन्नू न के भो ?
काकाले मुख खोल्नु भो । अब के भनिरहनुपर्छ र ! यस्तो अवस्था किन बनाउँछन् ? कुरा ठूलाठूला गर्ने अनि काम भने, कठैवर पापी मन ।‘मैले कुरा बुझिन काका !’ जिज्ञासा राखें । ‘यी हेर न यमुना नदीको अवस्था । सभ्यता र संस्कृति जोगाउँछु भन्नेहरूको नाकमा ढुंगा,’ काकाले निराश हुँदै भने, ‘मैले धेरै समयअघि यही यमुना नदीको तटमा यसैगरी पल्टिएर आनन्द लिएको थिएँ तर त्यो आनन्दलाई चकनाचुर बनाएछन् ।’‘बागमती नदीलाई ढलमती बनाए भनेर कराउने म यमुना नदीलाई पनि त्यस्तै ढलमती बनाएको देख्दा मुटु भक्कानियो बाबु ।’
उनको अनुहार निराश हुनुको कारण मैले बुझें । नदीमाथि दोहन र कुदृष्टि नेपालमात्र हैन भारतमा पनि उस्तै रहेछ । बागमती विष्णुमतीमा मात्र पापी मन रहेछ भनेको हैन भगवान् श्रीकृष्णको जन्मभूमिको हालत पनि त्यस्तै रहेछ । यमुना नदीमा हाम्फालेको दिल्लीदेखिको ढलले नदीको सुन्दरतालाई कुरूप बनाइसकेको थियो । तैपनि निकै नै रापतापले गन्ध फालिरहेको यमुना नदीको किनारमा काका पल्टिएर पुरानै आनन्द भने लिइरहेका थिए । धन्न यमुना नदी स्वच्छ बनाउँछु भनेर अर्बाैंको बजेट स्वाहा भएको रहेन छ ।
बागमती नदीमा त अर्बाैं रूपैयाँ बगिसकेर पनि नदीको अवस्था ढलमतीकै रूपमा चिनिएकाले काकाको मन यमुना नदीको तटमा बसेर पनि दुखिरहेको छ । नदी देशको सभ्यता हो । संस्कृति र पहिचान पनि हो तर ती नदीहरूको अवस्था संकटमा छ । बागमती होस् कि यमुना नदी सत्तामा बस्नेहरूका लागि कमाई खाने भाँडोका रूपमा स्थापित बनेको छ ।
धर्मका नाममा सत्ताको जालझेल गर्ने बागमती नदी सभ्यतामा बस्ने हुन् कि यमुना नदीको सभ्यतामा बस्नेहरूले बुझ्नुपर्ने ठानेका छैनन् । ‘आफ्नै अस्तित्व गुमिरहँदा पनि दंग परेको छन् स्वाँठहरू,’ काकाले अनुहार अमिलो बनाउँदै रोष व्यक्त गरे । ‘भन त कान्छा, यसरी नदीको कुरूपताले हाम्रा सन्ततीले के शिक्षा पाउलान् । हाम्रा पुर्खाले छाडेर गएको सभ्यता हामीले हाम्रा पुस्तालाई त्यस्तै कसरी दिन सकौला ?’
काकाको प्रश्नको उत्तर म के दिन सक्थें र ! वनकाली वनको हरियाली र वृन्दावनको हरियालीको आनन्द हिन्दू धर्मसँग जोडिएको होला । त्यहाँ रहेका मठमन्दिरको प्रसंगसँग होला । बागमती र यमुना नदीले दिने जलप्रवाह सम्पूर्ण जीवसँग सम्बन्धित छ तर त्यसको संरक्षण कसले गर्ने ? धर्म गर्न जाने मन्दिर फोहोर गर्ने, नदी प्रदूषित बनाउने, सहर सभ्य बनाउँछु भन्नेहरूले विकास भन्दै नदीमा ढल मिसाएर नदी सभ्यता संकटमा पारेर कुरूप बनाउनेबाट के अपेक्षा गर्न सकिएला र ?
‘देश ठूलो होस् वा सानो होस् । पद ठूलो होस् या सानो ! उसले गर्ने कर्म कत्तिको ठूलो छ भन्नेमा भर पर्छ ।’ काकाले मलाई सम्झाउँदै भन्नु भो ।देशलाई चिनाउन सभ्यता चाहिन्छ । सभ्यताका लागि नदी जोगाउनुपर्छ । स्थानीय पहिचान देखिनुपर्छ । जुन ठाउँमा पुगिन्छ त्यही ठाउँको परिचय हुनुपर्छ । तर अहिले त सभ्यता र संस्कृति नै ध्वस्त भएर जान थाले । काकाको अनुहारमा अझै असन्तुष्टिका ज्वारभाटा चल्न थाले । काका एक्लै भुतभुताउन थाल्नु भो । मैले केही भन्नै सकिनँ । काकामा नदी सभ्यता जोगाउने भूत यति सवार छ कि सक्ने भए अहिले नै ढल मिसाएको यमुना नदीलाई उसबेलाकै यमुना नदी बनाइदिनुहुन्थ्यो ।
नदी र प्रकृतिको मोह र संरक्षणका लागि कुनै सिमानाले छेक्ने रहेन छ । प्रकृतिको मोह र आनन्दलाई देशको पहिचानले पनि मतलव गर्दाे रहेन छ । धर्म, संस्कृति, सम्पदा र सभ्यताले ब्रह्माण्डको जुनसुकै कुनामा गए पनि उत्तिकै मोह गराउँछ ।‘बागमती नदी होस् कि गंगासागर वा यमुना नदी नै किन नहोस् नदीमा सत्ता हाँक्नेदेखि सबै मानवको पापी मन नहोस् । सबै मिलेर प्रकृतिले दिएको वरदान जोगाउन ध्यान दिऊँ ।’ काकाले भन्नुभयो र जुरूक्क उठेर भूमिमा ढोग्दै लम्कनुभयो ।