

काठमाडौं– सरकारले दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै खाद्यवस्तुको अनावश्यक सञ्चिति नगर्न पुनः आग्रह गरेको छ । नेपाल जनप्रशासन संघ (पान) ले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजना गरेको ‘कोरोनाको प्रभावः आपूर्ति व्यवस्था’ विषयको कार्यक्रममा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न, औषधिलगायत वस्तुका कुनै पनि अभाव नभएको बताए ।
खाद्यान्नलगायत अत्यावश्यकीय वस्तुको कुनै अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै उनले त्यसको सम्पूर्ण जिम्मा आफूले लिने बताए । ग्यासको अनावश्यक सञ्चितिले आपूर्ति प्रणालीमा असर गर्ने मात्र नभई गम्भीर प्रकारको दुर्घटनासमेत निम्त्याउन सक्नेतर्फ उपभोक्तालाई सचेत गराउँदै उनले सिलिण्डर थुपार्ने काम नगर्न आह्वान गरे । आपूर्ति व्यवस्थामा कुनै प्रभाव पर्न नदिन आफू सशस्त्र द्धन्दको समयमा झैँ दिनरात खटिइरहेको उल्लेख गर्दै उनले आपूर्ति व्यवस्थालाई चुस्त बनाउन मन्त्रालयको सिङ्गो टोली इमान्दार भएर लागेको बताए । ‘कसैलाई दोष दिने ठाउँ छैन’, उनले भने । मन्त्री भट्टले सङ्कटका बेला सबैलाई एकै ठाउँमा गोलबन्द हुन आह्वानसमेत गरे । ‘सङ्कटका बेला निजी क्षेत्र र जनताले पनि सहयोग गरिदिनुपर्छ,’ उनले भने ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त मात्रामा चामल र साल्ट ट्रेडिङसँग पनि पर्याप्त नुन र चिनीको मौज्दात रहेको जानकारी दिँदै आवश्यक परेको खण्डमा जहाँ, जुन जिल्लामा उपभोग्य वस्तुको अभाव हुन्छ त्यहाँ आपूर्ति गरिने बताए ।
बुधबार बिहानमात्र आफूले कालीमाटीस्थित तरकारी बजारको अनुगमन गरेको जानकारी दिँदै मन्त्री भट्टले तरकारी तथा फलफूलको आपूर्ति र मूल्यमा कुनै समस्या नरहेको पाएको बताए । ‘मैले त्यहाँ व्यापारीसँग पनि छलफल गरेँ’, उनले भने, ‘व्यापारीले कुनै पनि अभाव नभएको बताए, तरकारी तथा फलफूलको आयात भइरहेको छ ।’ चिनियाँ स्याउ र लसुनमा केही मूल्य बढेको र अन्य वस्तुको मूल्य घट्दो क्रममा रहेको पाइएको उनले जानकारी दिए ।
आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले संकटका बेला उपभोग्य वस्तुको अभाव हुन्छ भनेर हल्ला फैलाउनेभन्दा पनि संयमतापूर्वक लाग्नुपर्नेमा जोड दिए । छलफलमा साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले करिब एक लाख ३९ हजार ८०६ मेट्रिक टन नुनको मौज्दात रहेको जानकारी दिँदै यसले करिब १० महिनाको माग धान्ने बताए । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले आपूर्ति प्रणालीमा कुनै समस्या नभएकाले विश्वस्त हुन उपभोक्तालाई आग्रह गरे । ‘सरकारी कम्पनी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त मात्रामा उपभोग्य वस्तु मौज्दात रहेको छ’ उनले भने ।
बजारलाई अस्तव्यस्त बनाउने र गैरव्यावसायिक अवस्था सिर्जना गर्नेलाई कडाभन्दा कडा कारबाही हुने बताउँदै उनले सरोकारवाला निकायसँगको समन्वयमा बजार अनुगमनलाई तीव्रता दिइएको बताए । नेपाल खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले बजारमा पर्याप्त मात्रामा खाद्यवस्तु रहेको जनाउँदै आत्तिनुपर्ने अवस्था नआएको बताए । ‘बजारमा हल्ला भएजस्तो अभाव छैन, सामान ढुवानीका क्रममा केही समस्या देखिँदा त्यसको प्रभाव परेको हो ।’
औषधि थोक व्यवसायी सङ्घका अध्यक्ष शिव बाँस्कोटाले अहिलेकै अवस्थामा करिब ६ महिनालाई पुग्ने औषधि मौज्दात रहेको भन्दै नआत्तिन आग्रह गरे । ‘तपाईंहरू ढुक्क हुनुहोस्, औषधिको पर्याप्त मौज्दात छ, यदि कोरोना फैलिएमा आयातकर्ताबाट फार्मेसीसम्म लैजाने व्यवस्था सरकारले मिलाइदिनुपर्छ,’ उनले भने ।
सरकारले उपभोग्य वस्तुको कुनै पनि अभाव हुन नदिने प्रतिबद्धता दोहोर्याए पनि उपभोक्ता ढुक्क हुन सक्ने अवस्था नआएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकारको पैरवी गर्दै आएको संस्था कञ्जुमर आइ नेपालका महासचिव रञ्जन खनालले बजारमा व्यापक मात्रामा अनियमिता, कालोबजारी र कृत्रिम अभाव भइरहेको भन्दै सरकारको उपस्थिति नदेखिएको बताए । उपभोग्य वस्तुको अभाव हुँदैन भनेर सरकारले उपभोक्तालाई विश्वस्त पार्न नसकेको उनको भनाइ थियो ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले आपूर्ति तथा उपभोक्ता नीति तत्काल ल्याउन आग्रह गर्दै उपभोक्ता अधिकारसम्बन्धी छलफलका नाममा ‘छल’ गर्ने र ‘फल’ खाने प्रवृत्ति त्याग्न आग्रह गरे । त्यस्तै संघले आपूर्ति व्यवस्थालाई सहज बनाउन निजी क्षेत्रको सहभागितामा ‘रोडम्याप’ बनाउन सरकारलाई सुझाव दिएको छ ।