

काठमाडौं — नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध (रेस्ट्रिक्शन) नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘पाईपलाईनबाट पनि पेट्रोलियम पदार्थ आईरहेको छ । अहिले हामीले सप्लाईमा बढि ध्यान दिएका छौँ ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक पौडेलले आफूहरूले डिमाण्ड र सप्लाईको आवश्यकत्ता पूरा गरिरहेको सुनाए । उनले भने,‘हामी अहिले यही कुरामा बढि फोकस्ड छौँ ।’ उनले पेट्रोलियम पदार्थको पछिल्लो डाटा र स्टेस्टिक्स हेर्दा व्यापारीहरूले पनि किन्न कुनै कञ्जुस्याँई गरेको देखिएन् । एकाध, दुईले मुल्यको समायोजनले गर्दा नकिनेका होलान् ।’
उनले भैरहवाबाट पनि तेल ल्याउन आफुहरूले निर्देशन दिएको सुनाए । उनले अहिले सबै पेट्रोल पम्पमा तेल पुग्ने क्रममा रहेको पनि सुनाए । उनले भने, ‘आम उपभोक्ताहरूले भेहिकलमा राख्नुहोस् । तर, धेरै स्टोरेज नगरौं ।’ उनले पेट्रोलियम पदार्थको माग पूर्तिमा कुनै समस्या नभएको स्पष्ट पारे । उनले अहिले बजारमा भएको आम मागको ५ देखि १० प्रतिशत थपेर नै आफूहरूले भारतबाट आपूर्ति गरिरहेको जनाए । उनले आयल निगमले ६७ हजार किलोलिटरको भण्डारण क्षमतामा ५३ हजार किलोलिटर भण्डारण गरिसकेको सुनाउँदै यो भनेको ८० प्रतिशत भण्डारण भएको स्पष्ट पारे ।
त्यस्तै, उनले ग्याँसको सवालमा अहिले देखिएको समस्या आवश्यकभन्दा बढि सिलिण्डर स्टोरेज गर्नुनै प्रमुख कारण भएको स्पष्ट पारे । उनले भने,‘यो महिना चाहिएको ग्याँस ३८ हजार मेट्रिक टन हो, हामीले भारतसँग ४५ हजार टनको अर्डर पठाएका छौँ । अहिले बजारमा २८ लाख सिलिण्डर रहेका छन् । हामीले ३५ लाख मगाएका छौं । यो भनेको ७ लाख लाख बढि हो ।’
नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्याँसको कुनै समस्या नभएको जिकिर गरे । तर, अहिले देखिएको समस्या उपभोक्ताहरूले आवश्यकभन्दा बढि स्टकमा राख्नुलाई नै उनले प्रमुख कारण देखाएका छन् । उनले भने,‘यो समस्या समाधान गर्ने भनेको आपूर्ति नै हो । स्टक गर्ने ट्रेण्ड हटाउनुपर्छ ।’ उनले दैनिक एक लाख सिलिण्डर देशभरि खपत हुँदै आएको डाटा सुनाउँदै अहिले त्यतिनै मात्रामा आपूर्ति भैरहेकोले कुनै समस्या नहुने जिकिर गरे ।
पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले भारतबाट अहिले ७ वटा नाकाबाट पेट्रोलियम पदार्थ आपूर्ति भैरहेको सुनाउँदै बजारमा कुनै अभाव नभएको स्पष्ट पारेका छन् । उनले भने,‘कुनै दिनपनि आपूर्ति रोकिएको छैन् ।’ उनले आफूहरूसँग भएका ट्यांकरलाई समेत भण्डारणको लागि प्रयोग गर्नुपर्ने सुनाए । निगमको भण्डारण क्षमताले ७ दिनको लागि मात्रै पुग्ने बताउँदै भण्डारण क्षमता अझै बढाउनुपर्नेमा उनको जोड थियो । बोहोराले अहिले पेट्रोलियम पदार्थको कुनै भयावह अवस्था नभएको समेत जिकिर गरे । तर, निगमले समयमै मूल्य समायोजन नगर्दा अहिले दुई चार दिन समस्या देखिएको उनले तर्क गरे । उनले भने,‘निगमले मूल्य समायोजनमा ढिलाई गरेकै हो, कालोबजारी गर्ने ठाउँ छैन् । मूल्य घट्छ कि भनेर केही व्यापारी साथीहरूले तेल नउठाएको हुनसक्छ ।’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आफूहरूले अहिले विदाको दिनमा पनि बजार अनुगमन गरेको र लापरवाही गर्नेलाई अन द स्पट कारबाही गरिएको स्पष्ट पारेका छन् । उनले भने,‘एकीकृत रूपमा हामीले अनुगमनलाई अघि बढाएका छौं ।’ कालोबजारी गर्नेहरूलाई आफुहरूले ठाउँको ठाउँमा कारबाही गरेको उनले स्पष्ट पारे ।
उनले मंगलबारबाट ग्याँस तथा पेट्रोलियम पदार्थमा समेत ध्यान दिईएको र सोहीअनुरूप आज अनुगमन गरिएको पनि सुनाए । उनले भने,‘ग्याँसमा वितरण प्रणालीमा समस्या देखिएको छ । ग्राहकलाई होल्न नगर्नको लागि म आग्रह गर्दछु ।’