
काठमाडौैं — नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले मंगलवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई भेटी निर्माण उपकरणको सुरक्षाको लागि माग गरेको छ । साथै प्रतिनिधिमण्डलले विभिन्न समयमा देशका विभिन्न स्थानमा निर्माण उपकरण तथा सामाग्रीहरूमा आगजनीका घटनाले आफूहरू पीडित बनेकोले सरकारले पूर्ण सुरक्षाको प्रत्याभूति दिनुपर्ने अन्यथा देशभरि नै निर्माणकार्य रोक्न बाध्य हुने बताएका छन् ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसायसँग सम्बन्धित ऐन÷नियमहरू निर्माण व्यवसाय मैत्री तथा विकास निर्माण मैत्री नहुँदा विकास निर्माणको क्षेत्रमा देशले फड्को मार्न नसकेको बारे मन्त्री नेम्बाङलाई जानकारी गराएको छ ।
प्रतिनिधि मण्डलले विगत केही समय यता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समुहबाट बारम्बार भइरहेको श्रृखंलावद्ध आक्रमण तथा आगजनीका घटनाबारे समेत महासंघले मन्त्री नेम्बाङको ध्यानाकर्षण गराएको छ । विविध चुनौतिका बाबजुद निर्माण कार्यमा अहोरात्र खटिने व्यवसायीलाई पेशाबाट नै पलायन गर्ने गरी भएको त्यस्ता आततायी घटनाको कडा शब्दमा निन्दा गर्दै महासंघले विगतमा यस्ता घटनामा संलग्नलाई कार्वाहीको दायरामा नल्याएका कारण नै आक्रमण तथा आगजनीका घटना भइरहेको जनाएको छ ।
महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाहीको लागि आग्रह गर्दै व्यवसायीका उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति दिन मन्त्री नेम्बाङसमक्ष माग गरेको छ । पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल क्षतिपूर्तिको व्यवस्था गरिदिन आग्रह गर्दै महासंघले व्यवसायीको संयमतालाई कमजोरी नठान्न आग्रह गरेको छ । व्यवसायीहरू माथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाका लागि महासंघ देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुने जानकारी महासंघले गराएको छ ।
त्यसै अवसरमा प्रतिनिधिमण्डलले सार्वजनिक खरिद ऐन संशोधन गर्ने क्रममा महासंघको अनिवार्य प्रतिनिधित्वको लागि आग्रह गरेको छ । महासंघको सुझाव बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ परिमार्जन गर्ने कार्यमा अनिवार्य प्रतिनिधित्व गरी गराउनका लागि आवश्यक पहल गरी दिन प्रतिनिधिमण्डलले मन्त्री नेम्बाङ समक्ष आग्रह गरेको छ । जवाफमा मन्त्री नेम्बाङले समस्या समाधानका लागि सरोकारवाला निकायमा जानकारी गराइने बताएका छन् ।