

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने भएको छ ।
कूल भौतिक प्रगति ९९ दशमलव तीन प्रतिशत पुगेको आयोजनाको प्रमुख संरचनाको परीक्षण गर्न लागिएको आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रमुख काम करिब सम्पन्न हुने चरणमा पुगेको छ । अन्य आयोजनामा कोरोनाको प्रभाव परेको भए पनि सो आयोजनामा हालसम्म त्यसको कुनै प्रभाव परेको छैन । मात्रै आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति नभएको हो ।
आयोजनाको प्रमुख संरचनामध्ये बाँधस्थलको अवस्था पत्ता लगाउनका लागि पानी भर्न लागिएको हो । बाँधमा पानी जम्मा गरेर संरचनाको परीक्षण गर्न लागिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । आयोजनाका अनुसार सोमबारदेखि चार दिनसम्म बाँध, मुहान गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिनेछ । प्रवक्ता न्यौपानेका अनुसार बाँध क्षेत्रका संरचनामा केही समस्या भए नभएको परीक्षण गरेर हेर्न लागिएको हो । आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । निर्माण सम्पन्न भइसकेको संरचनाको अवस्था कस्तो छ भनेर हेर्न लागिएको हो । देशकै ठूलो आयोजनामा कूल २२ मिटर उचाइ तथा ६० मिटर चौडाइ भएको बाँध निर्माण गरिएको छ । बाँधमा आठ ढोका रहेका छन् । त्यसमा चार वटाबाट निकास हुने पानी डिसेन्डर बेसिन हुँदै मुख्य सुरुङमार्फत विद्युत्गृहमा पुगेर विद्युत् उत्पादन गर्ने गरी मिलाइएको छ ।
हाल मुख्य सुरुङमा अन्तिम चरणको ढलान कार्य हुँदैछ । सबैभन्दा कठिन मानिएको ठोडो सुरुङमा पेनस्टक पाइप जडानको काम पनि धमाधम भइरहेको छ । हालसम्म ठाडो सुरुङमा कूल ३९५ मिटर पेनस्टक पाइप जडान कार्य पूरा भइसकेको प्रवक्ता न्यौपानेले बताए । उनका अनुसार तल्लो ठाडो सुरुङमा कूल २५० मिटर र माथिल्लो ठाडो सुरुङमा १४५ मिटर पाइप जडान भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वैशाखभित्र ठाडो सुरुङमा पाइप जडानको कार्य सम्पन्न गर्न गत फागुन १४ गते आयोजनास्थल पुगेर निर्देशन दिएका थिए ।
आगामी असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः अन्य युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने लक्ष्य राखिएको छ । माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशः सात र पाँच दिनमा आइसकेकाले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले बताएको छ । रासस