

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको स्वाथ्यमा त्रमिक सुधार भइरहेको अस्पतालले दाबी गरेको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेको प्रधानमन्त्री ओली अहिले अस्पतलामै स्वाथ्यलाभ गरिरहेका छन् । तर, उनलाई अब डिस्चार्ज गर्दा हुने अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आए पनि पूरै सक्रिय हुन भने ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताइन् । मंगलबार प्रधानमन्त्रीको नियमित स्वास्थ्य अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा डा.शाहले भनिन्, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा एकदमै राम्रो सुधार भइरहेको छ । अब प्रधानमन्त्रीको डिस्चार्ज गर्दासमेत हुन्छ ।’
त्रिवि शिक्षण अस्पतालमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा.शाहले भनिन्, ‘डिस्चार्ज गर्दा पनि हुन्छ । प्रधानमन्त्रीज्यू पनि घर जान चाहनुहुन्छ । तर, घरमा पनि केही तयारी गर्नुपर्ने भएकाले हतारमा डिस्चार्ज नगरिएको मात्रै हो ।’
चिकित्सक शाहले यसै दिन डिस्चार्ज गरिन्छ भनेर अहिले मिति तोक्नु भने उपयुक्त नहुने बताएकी छन् । उनले भनिन्, ‘तर स्वास्थ्य अवस्था हेर्दा केही दिनभित्र डिस्चार्ज गर्न सकिन्छ । यद्यपि जोखिमको खतरा धेरै हुने भएकाले धेरै केयर गर्न जरुरी छ ।’
प्रधानमन्त्री ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको चिकित्सकहरूले बताउँदै आएका छन् ।