

धनगढी– धनगढी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सहकारीलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गर्ने बताएकी छिन् । शनिबार जिल्ला सहकारी संघ निर्वाचित सञ्चालन समितिको पदभार ग्रहण कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘अन्य देशमा सहकारी संस्थाहरू थोरै छन्, तर ठूला–ठूला योजना सहकारी संस्थामार्फत नै सञ्चालन भएको भन्दै यहाँ सहकारी संस्था धेरै छन्, तर उत्पादनशिल र समाज रूपान्तरणमा काम गर्न सकेका छैनन् ।’ उनले सहकारी संस्थाहरूमा सबै समुदाय, वर्ग आवद्ध हुने भएकाले परिणामुखी नतिजा आउने हुँदा प्रदेश सरकारले योजना सञ्चालन गर्दा सहकारीलाई नै प्राथमिकता राखेर अघि बढ्ने बताइन् ।
उनले प्रदेश सरकार सहकारीसंग साझेदारी गरेर अघि बढ्न तयार रहेको बताइन् । मन्त्री चौधरीले सहकारी शिक्षा अभावका कारण स्थानीय तहहरूले सहकारी संस्थालाई बलियो बनाउन नसकेको बताइन् । उनले भनिन्, ‘कतिपय स्थानीय तहहरूले सहकारीलाई पनि नीजि संस्था जस्तै सोचेर अनुदान तथा विभिन्न कार्यक्रमहरू दिइरहेका छन् ।’
उनले सहकारी व्यवस्थित र संरक्षित भएमा देशलाई विकासतर्फ डोहोर्याउन सक्ने बताइन् । उनले जिल्ला सहकारी संघले आफनो जिल्लामा रहेका सहकारीको संख्या, कार्य प्रगति, सहकारीको अवस्था लगायतका बारेमा तथ्यांक संकलन गरेर राख्न पनि आग्रह गरिन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरू बलियो भएमात्र राष्ट्र बलियो हुने बताए । उनले सहकारी संस्थाहरूलाई व्यवस्थित र बलियो बनाएर लग्नु पर्ने बताएका छन् ।
नगर प्रमुख वडले सहकारी संस्थाका कामहरू तीन वटै तहले सहकार्य र समन्वय गरेर अघि बढनुपर्ने बताए ।
जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष विश्वप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद् हरि श्रीपाइली, जिल्ला सहकारी संघका पूर्वसञ्चालक भोजबहादुर बम, राष्ट्रिय सहकारी बैंककी सञ्चालक शिवा थापा, माधव जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए । संघका उपाध्यक्ष भुपेन्द्र थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देवराज जोशीले गरेका थिए ।
कार्यक्रममा निर्वाचन अधिकृत वीरबहादुर जेठाराले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
फागुन १६ र १७ गते भएको संघको २०औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा फणीराज सापकोटा, उपाध्यक्षमा भुपेन्द्र थापा, सचिवमा देवराज जोशी, कोषाध्यक्षमा जयप्रकाश न्यौपाने निर्विरोध चयन भएका थिए ।
त्यस्तै, सदस्यमा तुलसा देवकोटा, कृष्णराज पाण्डे, दुर्गाप्रसाद भण्डारी, देवेन्द्र जोशी, दिप्ती शाही, नन्द पौडेल, विश्वनाथ चौधरी चयन भएका थिए । त्यस्तै, रामेश्वर प्रसाद सुवेदीको संयोजकत्वमा लेखा समिति चयन भएको छ । लेखा समितिको सदस्यमा गीता चौधरी र सुन्दरसिंह धामी रहेका छन् ।