काठमाडौं– धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरूपमा ओरालो लाग्यो । पाँच कारोवार दिनमा एकाध दिनमात्रै बजारले उकालोको यात्रा तय गर्यो ।
यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुपर्यो । यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर्तासमेत मर्कामा समेत परे । साताको पहिलो दिनदेखि नै ओरोलो लागेको बजार अन्तिम दिनसमेत ओरोलो नै लागेर बन्द भयो । बजारमा अल्पकालीन नाफा कमाउने प्रवृत्ति हावी हुँदा बजारले नकारात्मक लय समात्न पुग्यो ।
साताभर कूल १८१ कम्पनीको कूल तीन करोड १६ लाख ५५ हजार ५८३ कित्ता शेयर रु १३ अर्ब ७६ करोड बराबरको कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से ४०.८२ अङ्कले घटेर एक हजार ५९१.३६ मा पुग्यो । सो दिन कूल १८३ कम्पनीका एक करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर रु चार अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ मा खरिद बिक्री भएको थियो ।