Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
Search Here
विचार
  • Home
  • विचार
  •          प्यूठान घुम्ने रहर
         प्यूठान घुम्ने रहर
 सिर्जना शर्मा
 सिर्जना शर्मा मंगलबार, असोज १, २०८१

म सानै थिएँ । आफ्नो देशको नाम के हो , म जान्दिनथेँ । मेरो देशमा कति जिल्ला छन् त्यो झन के थाहा ? तर मैले प्यूठान नाम सुनेकी थिएँ । उमेरसँगै आएको स्मरणले थाह गरायो प्यूठानसँग मेरो परिवारको इतिहास जोडिएको रहेछ । त्यही कारणले मैले प्यूठानको नाम सानैमा सुनेकी रहेछु । पढाइ सकेर जागिर खाने भएपछि मलाई प्यूठान पुग्ने रहर जाग्यो । यसका पछि २,४ कारण जोडिएका थिए । एउटा त यस भूमीसँग जोडिएको मेरो बुबाको स्मरणीय ऐतिहासिक घटना । अरु दुई कारण त्यहाँको स्वर्गद्वारी र भित्रीकोट जस्ता धार्मिक तथा ऐतिहासिक स्थल पुग्ने रहर । त्यस्तै मैले सुनेको एउटा तीज गीत ‘के बुझेर दियौँ बाबै तिम्ले मलाई प्यूठान, प्यूठानमा पाइन मैले कहिल्यै ध्यू खान’।  

पारिवारिक कुराकानी हुँदा एकदिन बुबाले दाजुहरुसँग आफू पाल्पा, प्यूठान बस्दाको स्मरण सुनाउनु भएको सम्झन्छु । तर कुरा के थियो याद भएन । ३०३६ सालमा अफिसको कामको सिलसिलामा मेरो माइलो दाजु डा.भिमदेव भट्ट केही दिनका लागि प्यूठान पुग्नुभएको थियो । त्यहाँ स्थानिय बुढापाकाले दाजुलाई हाम्रो बुबाज्यू प्यूठान बस्दाको पुरानो कुरा सुनाएछन् । प्यूठानी समुदाय माझ बुबा एक असल, न्यायप्रेमी व्यक्तिका रुपमा चिनिनु हुँदोरहेछ । 

कलिलै उमेरमा घरछोडी कमाउन हिँडेनु भएको हाम्रो बुबा, जागिरका सिलसिलामा जुम्ला हुँदै पाल्पा अदालतमा पुग्नुभएको रहेछ ।  केहीवर्ष त्यहाँ काम गरेपछि २००६ साल तिर प्यूठान मालमा सरुवा हुनुभएछ । विक्रम सम्बत २००७ सालमा राणा विराेधी क्रान्ती शुरु भयो । क्रान्तीका बेलामा सरकारी अड्डाहरु निसानामा पर्ने भइहाले । लडाई, युद्ध, सत्तापरिवर्तनका बेला मैदानमा पुगेको मानिस बाँच्छ /मर्छ टुङ्गो हुँदैन । त्यसका बावजुद राणाशासनको कुरा । शासकका नजरमा मन नपरेको व्यक्तिको शिरमाथि तरवार झुन्डिएको हुन्थ्यो । त्यो समयमा अड्डा अदालतको साँचो ३ जना सक्षम ईमानदार कारिन्दाको हातमा हुनेरहेछ । ती तीनजना मध्येका एक व्यक्ति मेरो बुबा स्वर्गिय जयदेव भट्ट हुनुहुँदो रहेछ । यसरी अड्डा अदालतको साँचोहरु जिम्मा लिने व्यक्तिहरुलाई तीन साँचे भन्ने चलन रहेछ । क्रान्तीमा बेला मुक्तिसेना नामका मोर्चाका मानिसहरुले तीन साँचेलाई घेर्ने, अड्डा अफिसका सरकारी कागजपत्र जलाउने, अड्डा अदालत आफ्नो कब्जामा लिने प्रपन्चमा लागेका रहेछन् ।

यसकार्यका लागि त्यो समुहले तीन साँचेलाई घेर्ने, जनताका कागजपत्र नस्ट गरी जनताको सम्पत्ति, जग्गाजमिन आफ्नाे गराउने सम्मका प्रयास गरिरहेका थिए । मुक्तिसेनाका मानिसले अड्डा अदालतका तीन साँचेहरु दिशा सौच जाँदा समेत निगरानी गर्न खोज्ने, बन्दुक नै देखाएर तर्साउने जस्ता कार्य गरेका थिए रे । राणाशासन ढलेर अन्तरिम जिल्ला सरकार खडा भएपछि पनि कर्मचारीहरु सित घूस असूल गर्ने जस्ता कुकर्म ती क्रान्तीकारी भनाउँदाहरुले गरेका रहेछन् । उता आमजनता आफ्नो सम्पत्ति, जायथेथा गुम्ने त्रासमा छटपटिएका थिए । ती मानिसहरु तीन साँचेले त्राशमा परी आफूहरुको जग्गा जमीन सम्बन्धी कागजात मुक्तीसेनालाई सुम्पने पो हुन कि भनी त्राहीमाम भएका रहेछन् ।

Hardik health

यस्तो डरलाग्दो समयमा बुबा भने प्यूठानी जनताको पक्षमा हुनुहुँदो रहेछ ।  बुबाज्यूले सर्वसाधारणका जग्गाका मोठहरु सुरक्षित राख्न मुक्तिसेनाको आँखा छली कागजपत्रहरु अफिसबाट अन्यत्र लुकाउन पठाई प्रमाण नष्ट हुनबाट जोगाई दिनुभएछ ।  यसले गर्दा सर्वसाधारण जनता बुबासँग धेरै कृतज्ञ भएका रहेछन् । 

२००७ सालमा राणाशासनको अन्त्य भयो । त्यसलगतै ‘राणा सरकार ढल्यो । अड्डा अदालतमा कार्यरत कर्मचारीहरु सबै आ–आफनो घर सुरक्षित फर्क’ भन्ने तार आएछ । बुबाज्यूका साथमा परिवार र नाबालक छोराछोरी समेत रहेकाले सजिलै हिँडन सक्ने परिस्थिति थिएन । यस्तो अवस्थामा प्यूठानी जनताले बुबाज्यूलाई मायागरी बाटोका लागी खान्की दाल चामल, खाद्यान्नको व्यवस्था मिलाइ दिएछन् । साथै गुन्टा बिस्तरा लग्न खच्चरको व्यवस्था समेत गरेका  रहेछन् । बाटोमा सुरक्षाको लागी २,३ जना मानिस पनि साथै हिँडी दाङ कोइलाबाससम्म छोडन गएछन् । यसरी बुबाज्यू प्यूठानी जनताको माया,सदभाव र सहयोग पाई दाङ कोइलाबास हुँदै आफ्नो पुख्र्यौली घर बैतडी शकुसल पुग्नु भएकाे रहेछ । कुरो सुनेपछि मलाई प्यूठानी जनता प्रति श्रद्धा मात्र जागेन त्यहाँ आफ्नाे शरीर पुगेर त्यो भूमी र त्यहाँको मान्छेलाई नमन गर्न मन लाग्यो । 

दाजुले दाङ सल्यान हुँदै जानुपर्ने स्वर्गद्वारीको वर्णन पनि सुनाउनुभयो । स्वर्गद्वारी एक पर्यटकिय तथा धार्मिक स्थल ।  पाण्डवहरु स्वर्गद्वारी जाँदा यही बाटो भएर गएका थिए रे । त्यसैले यो ठाउँको नाम स्वर्गद्वारी रहन गएको हो भन्ने किंवन्दन्ती छ । स्वर्गद्वारीको धार्मिक र साँस्कृतिक महिमा बारे यस्ता महत्वपूर्ण कुरा थाह पाएपछि त्यो ठाउँमा एकपल्ट पुग्नै पर्छ भन्ने सोच आयो । त्यसपछि म प्यूठान पुग्ने मौका हेर्न थालेँ । त्याहाँ पुगेपछि पुराना प्यूठानी मान्छेसँग साक्षात्कार गर्ने सोच पनि मनमा आयो । 

२०६६ सालतिर म सेभ द चिल्डेन नामक एउटा अन्तराष्ट्रिय गैर सरकारी संस्थामा काम गर्थेँ । मलाई एउटा ५ दिने तालिम सन्चालन गर्न प्यूठान जानुपर्नेभयो । यसका लागी ५ जनाको टोली सहित म प्यूठानका लागी हिँडे । २०६३ सालमा माओवादी जनआन्दोलनकारी तथा सरकारबीच शान्ति सम्झौता सम्पन्न भए पनि जिल्लाहरुमा विभिन्न समुदायहरुले अनेक माग राखी बन्द हडताल, प्रर्दशनहरु गरेकै हुन्थे । हामी प्यूठान हिँडेका बेला पनि बाटोमा ठाउँ ठाउँमा सामान्य प्रर्दशनहरु भइरहेका थिए । तर यात्रा रोकिने अवस्था भने आएन । हामी सकुशल कार्यस्थल प्यूठानको भिङरी पुग्यौँ । स्थानिय सरोकारवालाको सहयोगमा तालिम पनि राम्ररी सम्पन्न भयो ।

तालिम सकिएपछि स्वर्गद्वारी पुग्छु । बुबाहरु २००७ सालमा बस्नु भएको ठाउँ प्यूठान खलंगा पनि पुग्छु र त्यहाँका पुराना स्थानियहरुसँग भेटघाट गर्छु भन्ने सोच थियो मेरो । साँझ सधैँ टीभी हेर्थे  । थारुहरु विभिन्न मागराखी आन्दोलनमा उत्रिएका थिए । तालिम सकिनु अघिल्लो दिन समाचारमा सुने २ जना प्रर्दशनकारी गोली लागेर मरे । झसङ्ग भयो मन । ओहो आन्दोलनले उग्र रुप लिइसक्योे । प्रदर्शनकारी मारिएको घटनाले आन्दोलन अझ चर्कियो । भालुवाङ क्षेत्रदेखि पूर्व पश्चिम सबैतिरको राजमार्गमा पूर्ण चक्काजाम भयो । अब कसरी फर्कने घर? कहिले फर्कने । सुर्ताले ओइलाएँ । रातभर निद लागेन । छटपटीमा बिहान भयो । काम सकिएको ३ दिन भइसक्दा पनि चक्काजाम  खुलेन  । मेरो भावुक सोच त्यसै सेलायो ।

अफिसको काममा हिँडदा निजी काम भ्याउन सम्भव हुन्न । त्यसैमा त्यहाँ म त आन्दोलनको भुँमरीमा परिसकेकी थिएँ । यातायातका साधन सबै बन्द । प्यूठान विजवारसम्म आयौँ हामी । त्यहाँबाट खलंगासम्म हिँडेर जान मलाई सम्भव थिएन । स्थानिय व्यक्ती पनि कोही चिनेकी थिइन । मध्यस्थता कसले कसरी गरिदिने? थाह न पत्तो त्यहाँ पुगेर मात्र पनि के गर्नु कोसँग भेटनु? त्यसबेला संचार माध्यम अहिले जस्तो पहुँचमा थिएन ।  स्वर्गद्वारी पुग्न पनि अहिले जस्तो सजिलो सहज काँहा थियो र ? मोटरबाटो पनि थिएन त्यो बेला । घोडा चढेर वा ५,६ घन्टा पैदल हिँडेर पुग्दा रहेछन् यात्रुहरु । मोटर बाटो त दाङसल्यान भएर आउने रहेछ । साथ जाने साथी पनि कोही थिएनन् ।

यस्तो यात्रा मेरा लागी कसरी सम्भव हुनु? स्वर्गद्धारी पुग्ने रहर पनि फुल्न नपाई झर्‍यो  । आफैसँग प्रश्न सोधैँ प्यूठानमा हाम्रो परिवारले क्रान्ति आन्दोलननै देख्न, भोग्न लेखेको रहेछ कि क्या हो? त्यसो हो नै भनेपनि प्यूठानी जनताले बुबालाई जस्तै मलाई पनि शकुसल घर फर्काउने छन् । म निश्चिन्त हुने प्रयासमा लागेँ । 

खान खान लजकोकोठाबाट तल झर्दा  होटल संचालक तथा छिमेकीहरुसँग देखभेट हुन्थ्यो । उनीहरु हामी प्रति प्रेम र सहयोगको भाव व्यक्त गर्थे ‘कति दिन लम्बला र यो आन्दोलन? १,२ दिनमा त साम्य भैहाल्छ । हामी तपाईहरुलाई सुरक्षित राख्छौ । चिन्ता लिनु पर्दैन् । बजारमा गाह्रो साह्रो क्यै भइहाले नजिकै गाउँमा जाउँला । घर छ हाम्रो । राम्रोगरी सुरक्षित राख्छौ पाहुनालाई ।’ उनीहरुका प्रेमल बोलीबचनमा यो मन दिनभरका लागी शान्त हुन्थ्यो । तर टिभीमा आन्दोलनको डरलाग्दो दृष्य देखेपछि आँखा रातभर जोडिन्न थे । ७ दिनको लागि घर छोडेर हिँडेका, थप ३ दिन त बाटो खुल्ला खुल्ला बन्द हडतालले रोकिसक्यो । त्यसपछि भने हामी फर्कने अन्य उपायबारे स्थानियहरुसँग कुराकानी गर्न थाल्यौँ । उनीहरुलेहामीलाई उपाय पनि बताए । उनीहरुका सल्लाह बमोजिम हामी एउटा जीप रिजर्भ गरी अर्धाखाँची पाल्पाको पाहाडी कच्ची बाटो हुँदै सकसका साथ काठमाडौँ पुग्यौँ ।   
२०८०को मंसीर ९,१० गते प्यूठानको बागदुलामा नेपाल बालसाहित्य समाजको २८ सौँ वार्षिक उत्सबको कार्यक्रम तय भएको थियो । कार्तिक महिनाको बीच तिर समाजका वर्तमान महासचिब बिजयराज आचार्यले फोन गरी सम्मेलनमा सहभागी हुन निम्ता दिए । नाइ भन्नु पर्ने कुनै कारण थिएन । पहिलो पटक त्यहाँ पुग्दाको हैरानी सास्ती सबै बिर्षि सकेकी थिएँ । म फेरी प्यूठान जाने भएँ । कुल हामी ४० जना साहित्यकारहरु प्यूठान यात्रामा हिँड्यौँ ।   

पहाडी बाटो, गाडीको लामो यात्रा मेरो लागी सहज हुन्न ।  तर यही कार्यक्रमा समाजसेवी कवयत्री मेरी नन्द सरला पराजुली तथा ज्वाईँ कमल पराजुली पनि सहभागी हुनुभएपछि आफू अझबढी सुरक्षित छु भनी ढुक्क भएँ  । बस हिँडेको पहिलो स्थानबाट सहभागीह चढदै आएकाले हामी चढने स्टप बल्खु चक्रपथमा पुग्दा सबै सीटहरु भरिभराऊ थिए । त्यहीँ प्रा.डा. ध्रुब घिमिरे लगायत हामी ३ जना गाडी चढ्यौँ । 

कवि आलोक चालिसे लगायतका साहित्यकारहरुको रमाइलो गफ, गीतगाना र जोक्सले यात्रा रमाइलो गरी अघि बढ्यो ।  भालुवाङसम्म बाटो कटेको पत्तै भएन । भालुवाङको घुम्तीमा बसले कमर मटकाउ थालेपछि भने मेरो टाउको मात्र हैन सारा पृथ्वीनै घुम्नथाल्यो । प्यूठान बागदुला पुग्दासम्म म अर्धचेतको अवस्थामा थिएँँँ । प्यूठान खलंगा पुगेपछि जिल्ला समन्वय समिति खलंगाको हलमा साँझ संघिय सांसद सूर्य थापा लगायत जनप्रतिनिधी तथा  विशिष्ठ व्यक्तीहरु हाम्रो स्वागतका उभिएको देख्दा मेरा आँखा अर्ध खुले । स्थानिय भेषभुषामा सजिएका महिलाहरु स्वागतका लागी पर्खिरहेका ।  हामी सबैको गलामा फूलको माला तथा शीरमा ढाका टोपी पहिराई उनीहरुले प्रेमल स्वागत गरे । स्थानिय नेवारी संस्कृति अनुरुप अन्डा, सेलरोटी लगाएका शगुन पनि दिए । साहित्यकारहरुलाई यस्तो भब्य स्वागत तथा प्रेमभाव देखाईको मेरो अनुभवमा पहिलो पल्ट नै थियो । हाम्रालागी यो अत्यन्त भब्य र आत्मिय स्वागत थियो  । प्यूठानलाई राष्ट्रिय स्तरमा चिनाउने उदेश्यका साथ गरिएको यो कार्यक्रम उधारणीय लाग्यो ।

 प्यूठान पुगेको साँझ करिब ९ बजेतिर सहभागीहरु बाँडिएर स्थानिय होटलहरुमा बास बस्यौँ । दुर्गमका सामान्य होटलहरु टिठलाग्दो अवस्थाका ।  गुजारा चलायौँ  ।  भोलीपल्ट सबेरै हातमुख धोई आँगनमा निस्कदा उत्तर दिशामा मनमु्ग्ध गराउने सेतो सुन्दर हिमाल टल्किएको देखियो । इन्दिरा दली, लगायत हामी ६ जना महिलाहरु दृष्यमा रम्दै फोटो खिच्नमा ब्यस्त रह्यौँ । ७ बजे बिहान प्रभातफेरीको कार्यक्रममा सहभागी हुनु थियो । हातको घडी हेदै हतारहतार हामी खलंगा पाटीचोक तर्फ लाग्यौँ ।  

प्यूठान खलंगा रिडाथान पाटीचोकदेखी महेन्द्र मावीसम्म “‘किताब पढौँ अघि बढौँ” भन्ने प्ले कार्ड र नारा सहित प्रभात फेरीमा सहभागी भयौँ । शिक्षक, विद्याथीर्, पत्रकार, साहित्यकार लगायतका ३०० जनाको सहभागिता रहेको प्रभातफेरीमा हिँडदैगर्दा बाल्यकालमा विभिन्न कार्यक्रममा स्कुलबाट साथीहरुका साथ रमाउँदै नारा लगाउँदै र्‍यालीमा हिँडेको स्मरण भयो । पुरै अवघि बाल्यकालको उही उत्साह र उमंग साथमा बोकेर प्रभात फेरीमा सहभागी बनेँ । सो अवसरमा २०१६ सालमा निर्मित कवि लक्ष्मी प्रसाद देवकोटाको सालिकमा माल्यार्पण गर्न पाउँदा मन आनन्दित भयो । प्रभातफेरी पछि मल्लरानीमा रहेको ऐतिहासिक शिवालयस्थानको अवलोकन गर्ने अवसर पनि जुट्यो । 

त्यसैदिन १० बजे जनता माध्यमिक विद्यालय बागदुलाको प्राङगढमा निर्मित मन्चमा बालसाहित्य समाजको औपचारिक कार्यक्रम शुरुभयो ।  बिमला खनालले कार्यक्रमको संयोजकत्व गरेकी थिइन् ।  बालसाहित्य समाजका बर्तमान अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा शुरु भएको कार्यक्रमा संघिय सांसद सूर्य थापा प्रमुख अतिथी थिए ।  कार्यक्रममा भाषा आयोगका सदस्य, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य, लगाएका विशिष्ठ व्यक्तिको उपस्थितिले कार्यक्रमको गरीमा बढाएको थियो ।  कार्यक्रमको शुरुमा  .....ले प्रस्तुत गर्नु भएको नृत्य अति उत्तम लाग्यो । यी प्रतिभावान नृत्यकारलाई मेरो हार्दिक नमन ।  
साहित्य लेखन प्रशिक्षण, विभिन्न विषयमा कार्यपत्र प्रस्तुती, कथा प्रतियोगिता, पुस्तक प्रदर्शन जस्ता विभिन्न कृयाकलापले सम्मेलन भब्य उच्च राष्ट्रिय स्तरको रहेको भानहुन्थ्यो । 
अर्कोदिन  बिहानै ६ः३० मा भालुवाङ चोकबाट भित्रीकोटको अवलोकनका लागी हिँड्यौँ । करिब १ घन्टाको कच्ची दुर्गमबाटो र करिब १ घन्टाको पैदल यात्रापछि भित्रीकोट दरवार स्थल पुगिने रहेछ ।  । भिर्कोटको इतिहास प्यूठान जिल्लाको समग्र इतिहाससँग गाँसिएको छ । प्यूठान भित्रिकोट चौबिसे राज्यको एक हिस्सा नै हो ।

शुरुमा त्याहाँ मगरातहरुले राज्य गरेका थिए । १८ औँ शताब्दीको उत्तरार्धमा गोरखाका राजा पृथ्वी नारायण शाहले नेपाललाई एकिकरण गर्ने क्रममा प्यूठान र यसका वरपरका क्षेत्रहरु विस्तारै गोरखा राज्यको नियन्त्रणमा ल्याएको इतिहास छ । भित्रीकोट दरवार भनिएको घर हाल सानो २ कोठे देखियो । त्यहाँ त्यो समयका राजाहरुले प्रयोग गरेका तबला, नरसिङ जस्ता बाजा तथा तरवार, खुडाखुकुरीहरु देखिए । त्यहाँ नजिकै सानो भित्रीकोट देबीको मन्दिर पनि रहेछ । दरवार एरियामा लगाएको पर्खाल बन्न नपाउँदै भत्कने गरेको कुरा स्थानियहरुले बताए । दानविय शक्तिका कारण पर्खाल यसरी सधैँ बन्न नपाउँदै भत्कने गरेको किंवन्दन्ती रहेछ । 

भित्रिकोट अवलोकन गरेर फर्केपछि फेरी कार्यक्रमको रौनकमा सामेल भयौँ ।  मध्यान्नमा ९–१२ कक्षाका भाइबहिनीहरुले कथा प्रतियोगिताका लागि पठाएका रचना प्राडा घ्रुब घिमिरे, प्रा.डा कपिल लामिछाने, तेज प्रकाश श्रेष्ठ तथा म सिर्जना शर्मा ४ जनाले मुल्याङ्कनका लागि पढ्यौँ । प्यूठान जिल्लाका सिकारु भाइ बहिनीहरुले लेखेका कथा निकै राम्रा थिए । कुल ४४ बटा समावेश कथा मध्ये प्रथम द्वितिय, तृतिय र सात्वनाका लागि सिफारिस गर्‍यौँ । 

त्यसै साँझ हामी प्यूठान स्वर्गद्वारीको अवलोकनका लागी हिड्यौँ । सललल गाडी गुडने पिच बाटो । करिब १ घन्टाको मोटरयात्रा र त्यसपछि करिब ४० मिनट जति सजिला सफा सिढी चढेपछि  स्वर्गद्वारीको सिरानमा पुगियो ।  आहाऽऽ स्वर्गद्वारी त साँच्चै स्वर्ग जस्तै रहेछ । यस क्षेत्रको प्राकृतिक दृष्य अत्यन्तै मनमोहक छ ।  

 माहाभारत कालमा पाण्डवहरुले यो पवित्र स्थलमा यज्ञ गरी स्वर्ग गएका थिए । यही बाटो गरी उनीहरु स्वर्ग गएकाले यस ठाउँको नाम स्वर्गद्वारी रहन गएको हो भन्ने किंवन्दन्ती छ । यस स्थानमा शिवको मात्र पुजा नभई सम्पूर्ण देवीदेवताको पूजा आराधना गरिन्छ । स्वर्गद्वारी गुफा यहाँको प्रमुख आकर्षणको केन्द्र हो । स्वर्गद्वारी कुल २६ हजार रोपनी क्षेत्रफलमा रहेको छ । स्वर्गद्वारी भगवान विष्णुको अवतार मानिएका महायोगी शेषनाथ (स्वर्गद्वारी बाबाले) स्थापना गरेका थिए । १९५१ मा यस भूमिमा १०८ महाप्रभु बाल तपस्वी नारायण गौतम स्वर्गद्वारीमा आई विश्व शान्तिका लागि वेद मन्त्र तथा पाठ गरी अखण्ड यज्ञ गरेका थिए जुन हालसम्म पनि निरन्तर बलि नै रहेको छ ।  

यस पवित्र स्थलमा १ सय रोपनी जग्गामा सात सय वटा गाई पनि पालिएका छन् । यिनै गाइको दूध र घिउबाट आउने पैसाबाट यस ऐतिहासिक तथा धार्मिकस्थलको व्यवस्थापन तथा यहाँ संचालन भइरहेको वेद पाठशालाको खर्चपर्च धानिएको छ । यस ठाउँमा वैशाख पूर्णिमामा ठूलो मेला लाग्ने भएता पनि अन्य समयमा समेत ठूलो संख्यामा धार्मिक पर्यटकहरु अवलोकन तथा पूजा ध्यानका लागी यहाँ आउछन् । 

पुगेको साँझ हामी भजन किर्तन जप ध्यान नाचगानमा रमायौँ । राती १६ जना महिलाहरु आश्रममा एउटै कोठामा लस्करै खाटमा सुत्यौँ । न अहंकार कसैमा न हिनताको भाव । समुद्र सरी शान्त चित्त । स्वछन्द हाँसो सबैको । मलाई फेरी बाल्यकालको याद आयो । जहाँ प्रेमभाव हुन्छ, त्यहीँ मानिसले आनन्दको सास फेर्छ । भोलीपल्ट बिहान आश्रम परिसर, गौशाला, स्वर्गद्वारी तपोभूमी जस्तो ठाउँको दृष्य अवलोकन गर्‍यौँ । शान्त शितल । सफा वातावरण । क्षितिजतिर सुनचाँदी जस्ता टल्कने हिमालका दृष्य । आहा स्वर्गद्वारी । स्वर्गद्वारीको समथल हिमटापुबाट दृष्य अवलोकन गर्दा  यात्रुहरु मनमुद्ध हुन्छन् । त्यसै बिहान आश्रमको दालभात , रायोको साग सहितको मीठो खाना खाएर हामी ओरालो लाग्यौँ । भालुवाङ हुँदै हाम्रो टोली रात्रीबसमा काठमाण्डौँ फर्कियो ।

बाटोभरी मनमा कुरा खेल्यो, साँच्चै प्यूठान रमाइलो रहेछ । प्रत्येक २,३ किलो मिटरको दूरीमा बर पिपलका चौतारा । हरियाली, रसिलो भूमी ।  ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पर्यटनस्थलहरु । यो ठाउँहरुमा सुलभ तथा सहज तरिकाले ठूलो संख्यामा वाह्य पर्यटकहरुसमेत पुर्‍याउनसके पर्यटन उद्योगमा ठूलो मद्दत पुग्न सक्छ । यो वर्ष यहाँ सम्पन्न बालसाहित्य सम्मेलन प्यूठानको साँस्कृतिको विकासमा नयाँ जागरण थपेका छ । यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि हुन सकुन भन्ने चाहना व्यक्त गर्दछु ।


 
 


प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
थप विचार
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत्
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत् आइतबार, कात्तिक ९, २०८२
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन सोमबार, कात्तिक ३, २०८२
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार 
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार  सोमबार, कात्तिक ३, २०८२
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता आइतबार, कात्तिक २, २०८२
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ? शनिबार, कात्तिक १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP