काठमाडौं– अघिल्लो एक सातामै २ सय अंकले बढेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार करिब १०० अंकले घटेको छ । दिउँसो १ बजे नै ९६.०६ अंकले नेप्से झरेपछि कारोबार बन्द गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको थियो । कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि कारोवार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले घटेको थियो । यस्तै सेन्सेटिभ परिसूचकसमेत १९.२० ले ओरालो लागेर ३२१.४३ मा पुगेको छ । सेन्सेटिभ परिसूचकसमेत ५.६४ प्रतिशतले ओरालो लागेको छ । कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर रु दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोवार भएको थियो । नेप्सेका अनुसार ‘सर्किट ब्रेक’ लाग्ने समयसम्म नेपाल लाइफ इन्सुुरेन्स कम्पनीको रु १५ करोड ६८ लाख ११ हजार २५६ बराबरको शेयर कारोवार भएको थियो । आइतबार बन्द भएको बजार मंगलबार भने सोही विन्दुबाट सुरु हुनेछ ।