

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले अहिले विश्वमा महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको संभावित प्रकोपलाई दृष्टिगत गर्दै सुरक्षात्मक उपायहरू अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ ।
कोरोना भाइरसको सम्भावित प्रकोपको यस विषम परिस्थतिमा मास्क एवम अति आवश्यक वस्तुहरूलाई सहज एवम सुलभ तरिकालेविक्रि वितरण गर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गर्दै चेम्बरले एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । चेम्बरले कोरोना भाइरसबाट बच्न अति आवश्यक पर्ने उपकरण सामाग्रीहरू जस्तै मास्क लगायतका सामग्रीहरूको आयातमा भन्सार तथा मुल्य अभिवृद्धि कर छुटको लागि समेत नेपाल सरकार समक्ष आग्रह गरेको छ । यसै सन्दर्भमा कोरोना भाइरसको प्रकोपबाट सृजित समस्याहरूलाई दृष्टिगत गर्दै फागुन १३ गते देखि आयोजना गर्ने भनिएको चेम्बर एक्स्पो हाललाई स्थगित गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न निजी क्षेत्रको तर्फबाट सहजीकरणका लागि चेम्बरका उपाध्यक्ष दिपक कुमार मलहोत्रा संयोजकत्वमा कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरिएको छ । उक्त समितिमा चेम्बरका कार्य समिति सदस्यमा श्री मृगेन्द्र मेहर श्रेष्ठ, नवराज ढकाल, दिपक श्रेष्ठ, दीपक कुवर, देवेन्द्र भक्त श्रेष्ठ, सुरेन्द्र शारदा, संजय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा रहेको विज्ञप्तिमा उल्लेख छ ।