
काठमाडौं– लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १८० कम्पनीका चार करोड ४९ लाख ४४ हजार ११३ कित्ता शेयर कूल रु १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार ४०७ मा खरिद बिक्री भए । साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि देखियो । आइतबार नेप्से झण्डै ७० अङ्कले बढ्यो । ‘बुलिस ट्रेन्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो ।
लामो समयपछि बजारमा आइतबार ‘सर्किट ब्रेक’समेत लगाउनुपर्याे । लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाब पर्न गयो । सोही कारण कारोवार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनुपरेको थियो । सो दिन कूल १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर रु तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए ।
साताको दोस्रो दिन नेप्सेमा सामान्य गिरावट आयो । सोमबार नेप्से १.९६ ले घट्यो । नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने तीन अर्ब माथि रह्यो ।
मंगलबार भने नेप्से ४३.०२ ले बढ्यो । नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भयो । बुधबार नेप्से परिसूचक ५०.९३ अङ्क बढ्यो । साताको अन्तिम दिन नेप्से ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे चार अर्ब पुग्यो ।