
काठमाडौं – नेपाली धितोपत्र बजारमा पहिलोपटक एकै दिनमा ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । यस साता लगातार रूपमा बढीरहेको नेप्से बुधबार पनि कायम रह्यो । बुधबार १८० कम्पनीको ३२ हजार १५४ पटकको कारोबारमा ४ अर्ब १५ करोड ४८ लाख रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
बुधबार कारोबार रकमले नयाँ इतिहास कायम गर्दा नेप्से परिसूचक ५०.९३ अंक बढेर एक हजार ५९६.१३ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ९.४९ अंक बढेर ३३६.०५ विन्दुमा पुगेको छ । कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ । यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६.१२ प्रतिशत बढेको छ । त्यसैगरी, उत्पादन उपसमूहको परिसूचक ४.६३ प्रतिशत बढेको छ भने बैंकिङ, होटल, निर्जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्से परिसूचक बढेसँगै यस दिन ४ कम्पनीहरूको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन एभरेष्ट बैंकको परिवर्तिय अग्राधिकार शेयर, राष्ट्रिय बीमा कम्पनी कम्पनी, युनिलिभर नेपाल र कालिका पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन गुराँस लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, सिभिल लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।
राधी विद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.२९ प्रतिशत घटेको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ७.९६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । सो इन्स्योरेन्सको यस दिन २१ करोड ९९ लाख रूपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स, नेपाल बैंक, हिमालयन डिष्टिलरी, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एशियाको कारोबार रकम १० करोड नाघेको छ ।
यस दिन वाणिज्य बैंकहरूको मात्र १ अर्ब २७ करोड ८६ लाख रूपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, जीवन बीमा कम्पनीहरूको यस दिन ६६ करोड ७० लाखबराबरको शेयर कारोबार भएको छ । यस दिनको फ्लोरसिटका आधारमा मोस्ट पपुलर बाईमा कृषि विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स लगायतका कम्पनी रहेका छन् ।