

काठमाडौं – भारतमा रहेको चर्चित अस्पताल शाल्बी अस्पतालले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । सेवा विस्तार र अति विशिष्ट स्वास्थ्य विशेषज्ञताका बारेमा चेतना फैलाउन नेपाल अर्थोपेडिक सोसाईटीले यही फेब्रुवरी २० देखि २२ तारिकसम्म आयोजना गरेको २५ औं अर्थोपेडिक सम्मेलनमा भाग लिन नेपाल आउनुभएका बरिष्ठ अर्थोप्लास्ट सर्जन डा. कल्पेश शाहले आफ्नो अनुभव प्रस्तुत गर्दै यस अस्पतालले नेपालमा नेपाली अस्पतालहरूसँग सहकार्य, समन्वय गरी सेवा विस्तार गर्नको लागि साझेदारीको अवसर दिने बताए ।
नेपाली बिरामीलाई अति बिशिष्ट स्वास्थ्य सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निःशुल्क तालिम, अस्पतालको क्षमता बृद्धिको लागि प्रविधि लगानीमा इच्छुक भएकाले सहकार्य र साझेदारी गर्ने अस्पतालका डाइरेक्टर डा. भरत गज्जरले बताए ।
शाल्वी अस्पताल भारतको एक चर्चित अर्थोपेडीक अस्पतालको चेन हो । ११ अस्पताल भन्दा बढी चेन भएको यस अस्पतालमा दुई हजार भन्दा बढी बेड, पाँच सय भन्दा बढी बरिष्ठ चिकित्सक तथा चार हजार भन्दा बढी स्वास्थ्यकर्मी सेवारत छन् । अस्पतालले विश्वभरिका बिरामीहरूलाई अति विशिष्ट स्वास्थ्य सेवा जस्तै हाडजोर्नी, एक लाख भन्दा बढी घुँडा प्रतिस्थापन गरी ठूलो सफलता हासिल गरी विश्व रेकर्ड बनाएको छ ।
अस्पतालका प्रसिद्ध अर्थोपेडिक सर्जन अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. बिक्रम शाहले अस्पतालमा अपरेशन गरेको ३ देखि ४ घन्टापछि बिरामी आफैँ हिडेर जान सक्ने गरी आधुनिक प्रबिधि ‘जिरो टेक्निक’ द्वारा न्युनतम चिरफार गर्ने उपचार गर्दै आएका छन् । सोही अवसरमा नेपाल मेडिकल टुरिजम अर्गनाईजेशनका अध्यक्ष तथा एक्सप्लोर हेल्थ केयर प्रा.लि.का प्रबन्धक निर्देशक श्रीकृष्ण पाण्डेले नेपालमा मेडिकल टुरिजमको विकासको लागि स्वास्थ्य क्षेत्रको स्तरोन्नती, प्राविधिक सहकार्य, प्रशिक्षण तथा फेलोसिप प्रोग्राम आवश्यक भएको बताए । पाण्डेले नेपालमा मेडिकल टुरिजम क्षेत्रको विकासको लागि दुई वटा अन्र्तराष्ट्रियस्तरको सम्मेलनको आयोजना गरेको र यसलाई निरन्तर संस्थागत दिगो रूपमा अगाडी बढाई नेपालमा मेडिकल टुरिजमको विकासको लागि हमेशा संघर्ष गर्ने बताए ।