काठमाडौं - वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अमेरिकामा आकर्षक तलबसहितको रोजगारी लगाइदिने भन्दै पीडितसँग रकम लिएर फरार रहेको आरोपमा रमेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।
कैलालीको टिकापुर घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २८ वर्षीय न्यौपानेले गणेश अधिकारीसमेत ५ जनासँग वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै पटकपटक गरी ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ ।
अमेरिकाको एक प्रतिष्ठित होटलमा आकर्षक कमाई हुने गरी काम लागाइदिने प्रलोभनमा पारी पीडितहरुबाट रकम लिएर फरार रहेको अवस्थामा न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ । उनलालाई खोजतालासका क्रममा बानेश्वरबाट पक्राउ गरिएको बताइएको छ ।
पीडितबाट पटकपटक गरी रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।