

काठमाडौं– चारजना शेर्पाहरूले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने भएका छन् । हिमाल आरोहण गर्न जानुअघि सोमबार काठमाडौंमा नेपाल भ्रमण बर्ष २०२० को सचिवालयले उनीहरूलाई बिदाई गरेको छ ।
उनीहरूलाई नेपाल भ्रमण बर्ष अंकित लोगोसहितको झण्डा सगरमाथाको चुचुरोमा फहराउनको लागि हस्तान्तरण गरीएको छ । उनीहरूले नेपालको मात्र हैन यो आरोहण विश्वकै रेकर्डमा सबै भन्दा छोटो समय अर्थात विन्टर स्पीड क्लाइम्विङ हुने जानकारी गराएकाछन् । चारजना शेर्पाहरूको यो आरोहणलाई अन्य हिमाल आरोहिलेसमेत चासोका साथ हेरेका छन् । एउटै जिल्ला संखुवासभा र एउटै मकालु गाउँपालिकाका उनीहरू चारैजना प्रख्यात आरोहिहरू हुन् ।
नेपाल भ्रमण बर्षलाई लक्षित गर्दे विश्वका आरोहिहरूको ध्यान नेपालतिर खिच्न यस आरोहणले मद्धत गर्ने आरोहि टिमका संयोजक टासीलाक्पा शेर्पाको भनाई छ । विन्टर सिजन अर्थात हिउँद सिजन हिमाल आरोहणको लागि अफ सिजनको रूपमा लिईन्छ । यो सिजनमा हिमाल आरोहण कठिन हुन्छ । तर, पनि उनीहरू चारैजना आरोहिहरूले ज्यानको बाजि राखेर विश्वमा नेपालको नाम लेखाउने साहस गरेका छन् ।
आठ पटकसम्म सगरमाथाको सफल आरोहण गरेका प्रख्यात आरोहि तथा पर्यटन ब्यवसायी टासी लाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको आरोहिहरूको टोली आजै सगरमाथा तर्फ लागेको छ । विश्वमा बिरलै रूपमा यस्तो क्लाईविङ (आरोह) हुने गरेको छ । सन १९८० मा र सन १९९३ मा विदेशीहरूले यस्तो क्लाईविङ (आरोह) गरेको पाईन्छ ।
अत्यन्तै लामो समय अर्थात झण्डै दुई महिना लगाएर उनीहरूले क्लाईविङ (आरोह) गरेको पाईन्छ । नेपाली चारजनाको टोलीले भने पाँचदिनमै सगरमाथाको चुचुरोमा पुगेर विश्व कीर्तिमान राख्ने संकल्प गरेका छन् । हिउँदमा अत्याधिक चिसो हुने, हिउँ परिरहने, बाटो बनाउन र पहिल्याउन निकै कठिन हुन्छ । त्यसैले हिउँदमा त्यति आरोहण गरिँदैन ।
हिमाल आरोहणका टिम लिडर टासिलाक्पा शेर्पाको भने हिउँदको समयमा अफ सिजनमा समेत बिना अक्सीजन सगरमाथाको आरोहण गरेर अर्को नयाँ विश्व कीर्तिमान कायम गर्ने ध्याउन्न छ । उनीहरूले फेबु्रवरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने लक्ष्य बनाएका छन् ।