काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आम नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा उनले सांसद उर्मिला थेवेले शिक्षाको पहुँचबाट गरिवलाई पर राख्ने नीति सरकारले किन लिँदै छ भन्ने प्रश्नको उत्तरमा उनले सरकार गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले भने,‘आम नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकारको नीति छ र सरकार प्रतिबद्धता रहेको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक छिटै नै संसदमा पेस गरिने छ । नेपालको संविधानमा उल्लेख गरिएको आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क उपलब्ध गराउँनका लागि सरकारले निःशुल्क पाठ्यपुस्तक आवासीय गैरआवासिय लक्षित समूहलगायतका विभिन्न किसिमको छात्रवृत्ति,प्याड लगायतको व्यवस्था गरिएको छ ।’
स्थानीय तहहरुले आफ्नो बजेटमा शिक्षामा थप लगानी गर्दै गएको भन्दै सार्वजनिक विद्यालयमा कुनै किसिमको शुल्क लिन नपाउने व्यवस्था पनि गरिएको बताए ।