काठमाडौं– आठौं तामाङ ज्ञान महोत्सव बिहीबार सम्पन्न भएको छ । तामाङ डाजाङ, तामाङ न्हाङखोर र तामाङ राष्ट्रिय पुस्तकालयले संयुक्त रुपमा आयोजना गरेको दुई दिने महोत्सव तामाङ भाषा, कला, संस्कृति, ज्ञान र इतिहासका विविध पक्षमा विचार विमर्श गर्दै सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय तामाङ परिषद्का कार्यकारी महासचिवले बुधबार उद्घाटन गरेको महोत्सवमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया सञ्चालन गरिएको थियो । पहिलो दिन इतिहासकार दिनेशराज पन्तले विशेष प्रवचन राखेका थिए । उक्त दिन ‘तामाङ ज्ञान र महिला’ विषयमा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक कुमारी लामा, मानवशास्त्री टेकबहादुर दोङ, सञ्चारकर्मी सञ्चु ब्लोन र खेन्पो नवराज लामाले आ–आफ्नो प्रस्तुति राखेका थिए ।
सोही दिन भाषा प्रविधि र लोकसाहित्य विषयमा डा. लोकबहादुर लोप्चन, बुद्ध योञ्जन, निष्णु थिङ, डा. बालकृष्ण बललगायतले प्रस्तुति दिनुका साथै प्राध्यापक डा. महेन्द्र लावतीको विशेष मन्तव्य राखिएको थियो । तामाङ बोन साहित्यसम्बन्धी अन्तरक्रियामा डा. मुक्तसिंह लामा, खोजराज गोले र टेकबहादुर मोक्तान वक्ताको रुपमा सहभागी थिए ।
महोत्सवको दोस्रो दिन बिहीबार राजनीतिक विश्लेषक सिकेलालको विशेष प्रवचन राखिएको थियो ।
उक्त दिन रविन्द्र थिङ, रमेश घिसिङ, अञ्जु मोक्तान, निमा मोक्तान, खोजराज गोले, धनबहादुर तामाङलगायतले कार्यपत्र प्रस्तुत गरे । सोही दिन पञ्चकन्या गाउँपालिका नुवाकोटका अध्यक्ष तेजबहादुर तामाङ र मण्डनदेउपुर नगरपालिका काभ्रेका प्रमुख प्रशासकीय अधिकृत डा. लोकबहादुर लोप्चनसँग स्थानीय सरकारसम्बन्धमा अन्तरसंवाद गरिएको थियो ।
तामाङ समुदायले प्रत्येक वर्ष भदौ ६ गतेका दिनलाई तामाङ पहिचान दिवसका रुपमा मनाउँदै आएका छन् । तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेरको पालामा सरदार बहादुर सुबेदार मेजर जंगवीर तामाङको नेतृत्व टोलीले प्रधानमन्त्रीसमक्ष आफूहरुलाई ‘तामाङ’ भनियोस् भनी माग पत्र राखेका थिए ।
सोही मागलाई सम्बोधन गर्दै भीम शमशेरले वि.सं. १९८९ भदौ ६ गते नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी गरेकाले सोही दिनलाई तामाङ पहिचान दिवसका रुपमा मानिएको महोत्सवका संयोजक निष्णु थिङले बताए । त्यसअघि तामाङहरुलाई भोटे, लामा, मुर्मी आदि भन्ने गरिएको पाइन्छ ।