मलेखु– धादिङको गजुरीमा पर्ने त्रिशूली नदीमा बस खस्दा आठ जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा परी दुई महिला र छ पुरुषसहित छ जनाको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमध्येमा म्याग्दी रघुगंगा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् । मृतक एक महिला र तीन पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार बसमा सवारमध्ये १७ जना घाइते छन् । उद्धार गरिएकाहरुमा १३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको र चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको गौतमले बताए । साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ । तर, दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरी उपरीक्षक गौतमका अनुसार बस खसेको स्थानको कुनापट्टि पानीको छाँगो छ । त्यही छाँगोको पानी कटाउने रेलिङविनाको सानो पुल छ । पुल भएको नजिकै सडकमा दुई मिटर जति लम्बाइको खाल्डो छ । पुल र छहराले गर्दा त्यो स्थानबाट दोहोरो सवारी पास हुन हम्मेहम्मे छ ।
‘कि त अगाडिको गाडी उछिन्ने क्रममा अनियन्त्रित भयो कि खाल्डो छलाउन खोज्दा चालक आत्तिएर बस अनियन्त्रित भयो,’ उनले भने, ‘सडक र चालककै कमजोरीले दुर्घटना भएको हुनसक्छ ।’
सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउन्टरबाट र दुई जनाले ‘इसेवा’बाट टिकट लिएका थिए । कलंकीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताए । सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् ।
नदीमा डुबेको बसबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार तथा मृतकको शव निकालेका थिए ।प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका थिए । उनले घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।
अध्ययन कार्यदलको माग
नेपाली कांग्रेसले धादिङमा भएको दुर्घटनामा बेपत्ताको खोजी र घाइतेहरुको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले पछिल्लो समय सवारी दुर्घटना बढ्दो क्रममा रहेको भन्दै तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गर्नसमेत माग गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै बढ्दो सडक दुर्घटनाबारे अध्ययन गर्न तत्काल एक कार्यदल बनाउन र घटनाहरुको नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।