कञ्चनपुर -कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ ।
नौ वटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण दिनहुँ बढिरहेको भए पनि त्यसविरुद्ध लगाइने खोपको अभाव छ ।
केही महिनायता पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख महेन्द्रराज पाण्डेयले जानकारी दिए ।
उनले भने, ‘हामीलाई खोपको अभाव छ, त्यसैले खोप लगाउन सकेका छैनौँ, कार्यालयमा आउने किसानलाई पशुमा देखिएको लक्षणका आधारमा औषधि दिइरहेका छौँ । संक्रमित पशुको उपचार भइरहेको छ ।’
खोपको उपलब्धताका लागि पहल भइरहेको उनको भनाइ छ । संक्रमणले पशुचौपाया मर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।
भीमदत्त नगरपालिका(१३ का प्रमानन्द भट्टले भने, ‘ज्वरो आउने, र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिन्छन्, अन्तिममा पशुको मृत्यु हुन्छ । यस्तै लक्षण देखिएपछि केही महिनाअघि ५० हजारमा किनेको भैँसी मर्यो, अहिले गोठ रित्तो छ ।’
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्यांकअनुसार यहाँका करिब तीन हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किनको संक्रमण देखिएको छ ।
दैनिक २०(२५ पशुचौपायामा संक्रमण देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख पाण्डेयले बताए ।
उनका अनुसार अहिलेसम्म जिल्लामा लम्पी स्किनको संक्रमणका कारण दुई सय पशुचौपाया मरेका छन् । सबैभन्दा बढी भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकामा संक्रमण देखिएको निमित्त प्रमुख पाण्डेयले बताए ।
गाईगोरुमा लम्पी स्किनको संक्रमण देखिएसँगै मर्न थालेपछि किसान चिन्तित बनेका छन् । किसान बजारबाट खोप खरिद गरेर चौपायालाई लगाइरहेका छन् ।
बेदकोट नगरपालिकाका मनोज जोशीले भने, ‘लम्पी स्किनको सङ्क्रमण गाउँमा फैलिएको छ, यो संक्रमणले चौपायाको मृत्यु भइरहेको सुनेपछि सुरक्षित राख्न पशुचौपायालाई खोप लगाएँ । बजारमा खोप पाइँदैन, पाइहाले पनि निकै महँगो छ ।’
संक्रमणविरूद्धको खोप महँगो हुनाले विपन्न किसानलाई लम्पी स्किनबाट पशुचौपाया जोगाउनै धौधौ परेको छ । लक्षण देखिएका पशुचौपायालाई छुट्टै ठाउँमा राखेर सरसफाइका साथै औषधोपचारमा विशेष ध्यान दिनुपर्नेमा पुनर्वास नगरपालिकाको पशु सेवा शाखा अधिकृत अनिता केसीले जोड दिए ।
उनले भने, ‘औषधोपचारबाट पनि धेरै संक्रमित चौपाया निको भएका छन्, तर केही समय लाग्ने गरेको छ, औषधोपचारमा विशेष ध्यान दिनुपर्छ । अहिले हामीले सङ्क्रमण देखिएको चौपायाको उपचार गर्ने कार्य गरिरहेका छौँ ।’