विराटनगर– कोशी प्रदेश सभाको उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको छ । उपसभामुख दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी थिइन् । तर, उपसभामुख अनुपस्थित भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक रोकिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो । सत्तारुढ गठबन्धन आजको बैठक स्थगित गर्ने पक्षमा छ । तर, स्थगित हुँदा कसले स्थगित गर्ने भन्ने पनि अन्योल रहेको छ ।
नेकपा माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरका अनुसार सोमबार बिहान ८ बजेका लागि बोलाइएको परामर्श समितिको बैठक दिउँसोका लागि सारिएको छ । सो बैठकमा सहमति भए प्रदेश सभा बैठक सञ्चालन हुने उनले बताए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो उपसभामुखले बैठक सञ्चालन गर्नु पर्ने बताउँछन् ।
सञ्चालन नगरेको खण्डमा उपसभामुखले नै बैठक स्थगित गर्नुपर्ने उनको भनाइ छ । विश्वासको मतको प्रयोजनका लागि मात्रै बैठक सञ्चालन गर्न सत्ता गठबन्धनको सांसदले जिम्मेवारी नालिने उनले बताए । ‘उपसभामुखले बोलाएको बैठक उहाँले नै स्थगित गर्ने हो,’ उनले भने, ‘जिम्मेवारी नलिएका व्यक्तिले स्थगित गर्ने कुरा आउँदैन् ।’