
संखुवासभा— पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली एवं कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ । भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताए ।
भारतले नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो । तेस्रो देशमा निर्यात नहुँदा एक मन (१०० किलो) अलैँचीको मूल्य घटेर रू २६ हजार पुगेको छ । केही वर्षअघि एक मनको रू एक लाखको हाराहारीमा कारोवार हुने अलैँचीको मूल्यमा गिरावट आएपछि रू २६ हजारमा किनबेच भइरहेको उपाध्यक्ष श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठले भने, ‘दुईचार वर्षअघि एक मनको एक लाखमा कारोवार हुने अलैँचीको मूल्य २६ हजारमा आइपुग्यो ।’
पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ । नेपालका अधिकांश अलैँची व्यवसायी भारतको बजारमा निर्भर हुनुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । अलैँचीको निकासी सीधै बङ्गलादेश नै गर्न सकेमा राम्रो मूल्य पाउन सकिने उपाध्यक्ष श्रेष्ठले बताए । अलैँची निर्यात कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न नेपाल अलैँची व्यवसायी महासङ्घका तर्फबाट उपाध्यक्ष श्रेष्ठ बङ्गलादेश, युनाइटेड अरब इमिरेट्स, चीन र भारत पुगेको जानकारी दिए ।