भरतपुर– भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाल डेंगु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेंगु परीक्षणका लागि आधिकतम रु छ सय तोकिएको हो ।
महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताए । उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरे।
जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेंगु परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने रु आठ सय लिँदै आएकोमा अब रु छ सयमात्र लिने जनाएको छ ।
पछिल्लो समय जिल्लामा डेंगु रोगको सङ्क्रमण बढ्दै गएको छ । साउनयता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ ।