तनहुँ - दुई सय दशौँ भानुजयन्तीको अवसरमा आयोजित कविता प्रतियोगितामा नवलपुरका दयाराम पौडेल प्रथम भएका छन्। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा आज आयोजना गरेको प्रतियोगितामा नवलपुरको देवचुली नगरपालिका–२ का पौडेल प्रथम भएको हो ।
प्रतियोगितामा तनहुँको देवघाटका विवेक पराजुली द्वितीय, तनहुँकै भानु नगरपालिका–४ का विनायक नेपाली तृतीय र सोही ठाउँका सूर्यदेवी पौडेल र आयुष आचार्य सान्त्वना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र एक हजार पाँच सय नगद प्रदान गरिनेछ ।
रामायण वाचन प्रतियोगितामा तनहुँको भानु नगरपालिका–४ का आराध्या ढकाल प्रथम, व्यास नगरपालिकाका स्वाधीनता पौडेल द्वितीय, भानु नगरपालिका–४ का प्रस्तुती आचार्य तृतीय र विनिषा श्रेष्ठ र रक्षा पौडेल सान्त्वना भएको छ । उनीहरूलाई क्रमशः रु पाँच हजार, रु तीन हजार, रु एक हजार र रु पाँच सय नगद प्रदान गरिनेछ ।
भानुजयन्तीको विशेष अवसरमा भोलि शुक्रबार आयोजना हुने कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । भानुजयन्तीको अवसरमा भोलि प्रभातफेरि, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ ।
भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविकारूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतीराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।
गण्डकी प्रदेशले भानुजयन्तीका अवसरमा शुक्रबार सार्वजनिक बिदासमेत दिएको छ । प्रदेश मन्त्रिपरिषद्को मिति २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाबमोजिम भानुजयन्तीका अवसरमा उक्त दिन बिदा दिने निर्णय गरिएको हो ।