काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी सिरहाको औरही गाउँपालिकाको एक कार्यक्रममा विवाद चर्किएको छ। पाठ्यक्रमका लागि सुझाव संकलन गर्न शनिबार आयोजित कार्यक्रममा बोल्ने अवसर, कार्यक्रम सञ्चालन र भिडियो खिचेको विषयलाई लिएर विवाद भएपछि मन्त्री पोखरेलले बोल्दाबोल्दै कार्यक्रमस्थल छाडेका हुन्।
औरही गाउँपालिकाले शनिबार आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्रतिनिधिसभा सदस्य शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो, गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा अन्य सरोकारवालाको सहभागिता थियो।
गाउँपालिका अध्यक्ष शिवजी यादवपछि ढिलो गरी कार्यक्रममा पुगेका मन्त्री पोखरेललाई सम्बोधनका लागि सीधै माइक दिइएको थियो। त्यसपछि जिल्ला समन्वय समिति सिरहाका सभापति महतोले कार्यक्रम सञ्चालनको शैलीप्रति असन्तुष्टि जनाएका थिए।
महतोले पाठ्यक्रम निर्माणका लागि सुझाव लिन बोलाइएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि र शिक्षकलाई समेत आफ्नो धारणा राख्ने अवसर दिनुपर्ने बताएका थिए। उनका अनुसार उक्त विषयमा आफूमात्रै नभई कार्यक्रममा सहभागी शिक्षक तथा अन्य जनप्रतिनिधिलेसमेत असन्तुष्टि जनाएका थिए।
‘यो गुनासो मेरो मात्रै थिएन, त्यहाँ सहभागी शिक्षक र अन्य जनप्रतिनिधि साथीहरूको पनि थियो,’ महतोले भने, ‘तर मन्त्रीज्यूसँग आउनुभएका केही साथीहरूले अपमानजनक ढंगले चुप लगाउन खोज्नुभयो। हामी जिल्लाका जनप्रतिनिधिको आवाज नसुन्ने हो भने यो कस्तो सुझाव संकलन हो।’
कार्यक्रममा विवाद बढ्दै गएपछि मन्त्री पोखरेलसँगै आएका केही व्यक्तिको व्यवहारलाई लिएरसमेत प्रश्न उठेको महतोको दाबी छ। आफूहरूले कार्यक्रममा सुझाव राख्न खोज्दा उल्टै अपमानजनक व्यवहार गरिएको उनको आरोप छ।
यसैबीच कार्यक्रममा भिडियो खिचिरहेको विषयले विवादलाई थप चर्काएको थियो। सहभागीहरू बसेको स्थानबाट भिडियो खिचिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का औरही गाउँपालिका सभापति सन्तोष यादवको मोबाइल फोन खोस्न लगाइएको आरोप लागेको छ। महतोका अनुसार मन्त्री पोखरेलसँगै आएका एक व्यक्तिले नेपाली सेनालाई भन्दै यादवको मोबाइल खोस्न लगाएका थिए। मोबाइल खोस्न खोजिएपछि कार्यक्रमस्थलमा होहल्ला भएको उनको भनाइ छ।
विवाद चर्किएपछि मन्त्री पोखरेलले आफ्नो सम्बोधन छोट्याएका थिए। त्यसपछि सुरक्षाकर्मीको सहयोगमा उनी कार्यक्रमस्थलबाट बाहिरिएको बताइएको छ।
तर, घटनाबारे रास्वपा सांसद शिव यादवले भने महतोमाथि नै आरोप लगाएका छन्। उनका अनुसार कार्यक्रममा विवाद सिर्जना हुनुको मुख्य कारण जिल्ला समन्वय समिति सिरहाका सभापति महतो नै हुन्।
यसरी शिक्षा तथा खेलकुदमन्त्री पोखरेल प्रमुख अतिथि बनेर सहभागी भएको पाठ्यक्रम सुझाव संकलन कार्यक्रम नै विवादको केन्द्र बनेको छ। पाठ्यक्रम निर्माणका लागि शिक्षक र जनप्रतिनिधिबाट सुझाव लिन आयोजना गरिएको कार्यक्रममै जनप्रतिनिधिबीच विवाद भएपछि मन्त्री पोखरेललेसमेत आफ्नो मन्तव्य छोट्याएर सुरक्षाकर्मीको सहयोगमा बाहिरिनुपरेको घटनाले थप प्रश्न उठाएको छ।
घटनाबारे दुवै पक्षका दाबी फरक–फरक छन्। तर मन्त्री सहभागी कार्यक्रममै जनप्रतिनिधि र सहभागीबीच विवाद चर्किनु तथा मोबाइल खोस्न खोजिएको आरोप लाग्नुले कार्यक्रमको व्यवस्थापन र कार्यशैलीमाथि प्रश्न उठेको छ।
भ्रम फैलाउने प्रयास भयो: शिक्षामन्त्री
शिक्षामन्त्री सस्मित पोखरेलले दुई जना व्यक्तिले आएर हल्ला गरेपछि कार्यक्रम प्रभावित भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै छोटो भिडियो क्लिप खिचेर भ्रम फैलाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
‘आज सिरहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौं,’ उनले लेखेका छन्।
‘त्यही घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बंग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको छ। लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ। तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन,’ शिक्षामन्त्री पोखरेलको भनाइ छ।