
सुर्खेत– उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिको पहिलो आधार जैविक कृषि भएको बताएका छन् । सुर्खेत गाग्रेतालस्थित नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयको एकीकृत जैविक कृषि मोडेल फार्म प्रदर्शनी तथा अनफार्म अनुसन्धान प्लट स्थापना तथा सञ्चालनको उद्घाटनमा उपराष्ट्रपति पुनले आर्थिक समृद्धिको पहिलो आधार कृषि भएको बताएका हुन् ।
कार्यक्रममा उपराष्ट्रपति पुनले आधुनिक प्रविधिद्वारा मात्र कृषिको विकास हुने बताए । ‘आधुनिक प्रविधिद्वारा कृषिको विकास जरुरी छ । आधुनिक उत्पादन तथा औद्योगिक क्रान्ति गरेर मात्रै नेपालको समृद्धि सम्भव छ’, उपराष्ट्रपति पुनले भने । ‘पहिला यहाँको उत्पादन बाहिर जान्थ्यो, अहिले बाहिरको वस्तु आउने गरेको छ । अर्बौं पैसा बाहिर जाने गरेको छ । गाउँमा बाँझो जमिन बढ्दै गएको छ । अब यो समस्या समाधान गर्न समग्र कृषिको आधुनिकीकरण गर्न जरुरी छ’, पुनले भने ।
कृषिलाई पहिलो प्राथमिकतामा पारेर अगाडि बढ्न सके समृद्धिको आधार थप बलियो हुने उनले बताए । विषादिरहित उत्पादन हाम्रो प्राथमिकतता हुनुपर्ने भन्दै उपराष्ट्रपति पुनले विषादिरहित खाद्यान्न र तरकारी उत्पादन गरेर नमूना बन्न कर्णाली प्रदेशलाई सुझाव दिए । कर्णाली प्रदेशबाट जैविक कृषिको आधार तयारको अभियान शुरु भएको भन्दै उनले जैविक कर्णाली प्रदेश कृषिमा नमूना प्रदेश बन्ने विश्वास व्यक्त गरे । उनले विद्यालय परिसरमा आँप र फर्सीको बिरुवा रोपेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । विद्यालयले निर्माण गरेको जैविक मल, वेष्ट डिकम्पोजर र जीवामृतलगायतका नमूना कामको अवलोकन समेत गरेका थिए ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, कर्णाली प्रदेशसभा सदस्य पदमा खड्का, कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, कृषि सचिव राजेन्द्रप्रसाद भारीलगायतका कर्मचारीको सहभागिता रहेको थियो ।