
काठमाडौं– सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरूपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने विद्युत्को समेत आर्थिक लाभ प्राप्त भएको छ । नियमित विद्युत् आपूर्ति पछि चोरी तथा चुहावटमा संलग्नसमेत हच्किएका छन् । सकारात्मक परिणाम पनि देखापरेको हो ।
चालू आर्थिक वर्षको पहिलो छ महिनामा वितरणतर्फको औसत विद्युत् चुहावट ९.७८ प्रतिशतमा झरेको छ । यसले ठूलो राहत दिएको प्राधिकरणको दाबी छ । आव २०७५÷७६ मा ११.२८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई चालू आवको पहिलो छ महिनामा १.५० प्रतिशतले घटाएर ९.७८ प्रतिशतमा सीमित गर्न प्राधिकरण सफल भएको हो । त्यसले प्राधिकरणको आर्थिक स्वास्थ्यलाई सुधार गर्नसमेत बल मिलेको छ ।
चालू आवमा वितरणतर्फको विद्युत् चुहावटलाई ८.५० प्रतिशतमा सीमित गर्ने लक्ष्यका साथ प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार तथा विस्तारमा ध्यान केन्द्रित गरेको छ । आ.व. २०७२÷७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५÷७६ सम्ममा १५.३२ प्रतिशतमा झारिएको थियो । चालू आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य राखिएको छ । सामान्यता प्राविधिक चुहावट घटाउन ठूलै मेहनत जरुरी पर्छ । तर त्यसलाई समेत क्रमशः घटाउँदै जाने प्राधिकरणको लक्ष्य रहेको छ ।
चुहावट नियन्त्रणबाट मात्रै वार्षिकरूपमा रु १० अर्ब थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष वर्षमान पुनले विद्युत् चुहावट घटाउने, संस्थाभित्रको वित्तीय तथा प्रशासनिक बेतिथी नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सुधार गर्नेलगायतका निर्देशन प्राधिकरण व्यवस्थापनलाई दिएका छन् ।
प्राधिकरणले अहिले सोहीअनुसार काम गरिरहेको छ । मन्त्री पुनले राम्रो गर्नेलाई पुरस्कार र नराम्रो नगर्नेलाई दण्ड दिन स्पष्ट निर्देशन दिएका छन् । सोही निर्देशनको परिणामसमेत स्पष्टरूपमा देखापरेको प्राधिकरणको भनाइ छ । प्राधिकरण आफैँले तोकेको चालू आवको लक्ष्य हासिल हुने कार्यकारी निर्देशक घिसिङको विश्वास छ ।
कार्यकारी निर्देशक घिसिङ विद्युत्भार कटौतीको अन्त्य भई नियमितरूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका प्रभावकारी कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको बताउँछन् ।
प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको ग्राहकको पहिचान गरी रिडिङ गर्ने र प्राविधिक चुहावट नियन्त्रणका लागि सबस्टेसनको क्षमता वृद्धि गर्ने काम गर्दै आएको छ । यस्तै कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका काम अभियानकै रूपमा चलाइरहेको छ ।