काठमाडाैं - काठमाडाैं महानगरपालिकाले सार्वजनिक स्थलमा फोहोर फाल्नेबाट ३ महिनामा ४ लाख जरिवाना उठाएकाे छ।
सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कारबाही गरी पछिल्लो तीन महिनामा महानगरपालिकाले ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको हाे ।
घरको फोहोर राति लगेर सार्वजनिक ठाउँमा फाल्नेलाई कारबाही गरी ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको महानगरपालिकाले जनाएको छ ।
वातावरण र कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा एक लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए ।
फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा एकहजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको उनले बताए ।
कतिपयले राति गाडीमै फोहोर लगेर सार्वजनिक ठाउँमा फाल्ने गरेको पाइएको महानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ ०९:२०