काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक (तत्कालीन १०औं तह) डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारले शुक्रबार सापकोटाविरुद्ध दुई करोड तीन लाख रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार डा. सापकोटाले स्वास्थ्य मन्त्रालयअन्तर्गतका आकर्षक कार्यालयहरूमा निरन्तर कार्यरत रहँदा पदीय हैसियतको दुरुपयोग गरी काठमाडौंलगायतका प्रमुख सहरहरूमा महँगा घडेरी खरिद, भव्य घर निर्माण र महँगा सवारीसाधन खरिद गरी अस्वाभाविक जीवनस्तर बिताएको भन्ने उजुरीका आधारमा छानबिन गरिएको थियो।
आयोगले डा. सापकोटाको सार्वजनिक सेवामा प्रवेश मिति २०५३ साउन २५ गतेदेखि २०८० वैशाख ३० गतेसम्मलाई जाँच अवधि कायम गरी अनुसन्धान गरेको थियो। उक्त अवधिमा उनले वैधानिकरुपमा पारिश्रमिक, विभिन्न भत्ता, जग्गा तथा सवारीसाधन बिक्री, घरबहाल, बैंक ब्याज, सेयर बिक्री, कृषि आय लगायतका स्रोतबाट कूल तीन करोड ३५ लाख ७७ हजार आर्जन गरेको देखिएको आयोगको अनुसन्धानबाट खुलेको छ।
सोही अवधिमा घरजग्गा खरिद, घर निर्माण, सेयर, सवारीसाधन, कर्जा भुक्तानी, अध्ययन खर्च, सुन खरिद तथा बैंक मौज्दातसमेत गरी कूल पाँच करोड ३९ लाख ७१ हजार रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ।
कूल आयभन्दा खर्च तथा लगानी अधिक भई दुई करोड तीन लाख ९४ हजार रुपैयाँको वैध स्रोत खुलाउन नसकेपछि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि गरेको हो।
साथै, डा. सापकोटाले आफ्नो सम्पत्तिको वास्तविक विवरण लुकाएर झूटा विवरण पेस गरेकोसमेत पाइएकाले साबिक तथा प्रचलित भ्रष्टाचार निवारण ऐनबमोजिम बिगो जफत, कैद र जरिवानाको मागदाबी गरिएको छ।
गैरकानुनीरूपमा आर्जन गरिएको सम्पत्ति श्रीमतीको नाममासमेत खरिद गरी राखिएको पाइएकाले सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि डा. सापकोटाकी श्रीमती निरजा पण्डितलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।