काठमाडाैं - लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने व्यक्ति प्रहरीले पक्राउ गरेकाे छ । चन्द्रागिरी न.पा. वडा नं. १५ घर भई हाल का.जि का.म.न.पा वडा नं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो एण्ड क्याफेको म्यानेजर पदमा कार्यरत वर्ष ४२ को मुकेश मालीलाई अश्लिल भिडियो रेकर्ड गरेको फेला पारी प्रहरीले पक्राउ गरेकाे जनाएकाे हाे ।
मिति २०७९।०७।०२ गते अं. १४:०० बजेको समयमा काठमाडाैं जिल्ला का.म.न.पा वडा नं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचनाकाे आधारमा निजलाई पक्राउ गरेकाे महाराजगञ्ज प्रहरी वृत्तले जनाएकाे हाे ।

प्रहरी वृत्तले खबर पाउनसाथ तत्कालै प्रहरी अधिकृतसहितको टोली उक्त लजमा पुगी मालीको साथमा रहेको मोबाइल फोन नियन्त्रणमा लिई चेक जाँच गरेकाे बताएका छन् । प्रहरीका अनुसार निजको मोबाइल फोनमा गेष्ट हाउसमा बस्ने गरेका विभिन्न व्यक्तिहरुका रेकर्डेड भिडियो फेला पारी उनलाई नियन्त्रणमा लिएको छ ।
निजकाे साथबाट आइफोन १२ प्रो म्याक्स थान-१ बरामद गरेकाे प्रहरीले जनाएकाे छ । उक्त घटनाको सम्बन्धमा पक्राउ परेका मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा श्री जिल्ला प्रशासन कार्यालय, काठमाडाैंबाट दिन-५ को म्याद थप अनुमति प्राप्त भई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको जनाइएकाे छ ।