कर्णाली- कर्णाली प्रदेशमा बाढीपहिराबाट ३३जनाको मृत्यु भएकाे छ भने ४ सय ८० घर परिवार विस्थापित भएका छन् । प्रदेशभर बाढीपहिराका कारणा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको प्रदेश प्रहरी कार्यालय कर्णाली जनाएकाे हो ।
सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुगुमा आठ, कालिकोट र हुम्लामा चार/चार, जाजरकोटमा तीनको मृत्यु भएको छ ।
डोल्पा र सल्यानमा दुई/दुई जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । २२ जना अझै बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बेपत्ता हुने सबैभन्दा धेरै कालिकोटका एक प्रहरी जवानसहित २० रहेका छन् । जुम्लाका दुई र दैलेखका एक जना रहेका छन् । बाढीपहिरामा परी प्रदेशभर २१ घाइते भएको विवरण प्रहरीको तथ्याङ्कमा छ । जसअन्तर्गत कालिकोटका मात्रै सात छन् भने मुगु र हुम्लाका पाँच/पाँच घाइते भएका छन् ।
जुम्लाका दुई, रुकुम पश्चिमका एक र जाजरकोटमा एक जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० घर परिवार विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन घर परिवार विस्थापित भएका छन् ।
मुगुका एक सय ७८ घर परिवार विस्थापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नौ, सुर्खेतका आठ घर परिवार विस्थापित भएका हुन् ।डोल्पाका चार घर परिवार विस्थापित हुँदा जाजरकोट र रुकुम पश्चिमका दुई/दुई घर परिवार विस्थापित भएका छन् ।
प्रभावित जिल्लामा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत कार्य भइरहेको प्रवक्ता श्रेष्ठले बताए । घर क्षति र विस्थापितलाई लागि प्रदेश सरकारले राहत पठाउने प्रक्रियामा सुरु गरेको जनाएको छ । घाइतेको उद्धारको लागि हेलिकप्टर परिचालन भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ १८:३५