मेड्रिड - संविधान दिवसको अवसरमा नेपाली दूतावास स्पेनले त्यहाँको राजधानी मेड्रिडमा संविधान दिवस तथा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम गरेको छ ।
स्पेनको विदेश मामिला तथा युरोपेली युनियन सहयोग मन्त्रालय तथा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका प्रतिनिधिसँगै नेपाली समुदायको उपस्थितीमा भव्य कार्यक्रम भएको दूतावासले जनाएको छ ।
नेपाली राजदूत शर्मिला पराजुली ढकाल, व्यवसायी विमल ढकाल तथा त्यहाँको विदेश मामिला मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका अधिकारीहरुले संयुक्त रुपमा केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै राजदूत ढकालले नेपालको लोकतन्त्र प्राप्तिको लामो संघर्ष अनि संविधान निर्माण तथा कार्यान्वयनका विषयमा चर्चा गरिन् ।नेपाल र स्पेनको दिव्पक्षीय सम्बन्ध असल रहेको भन्दै उनले देशको कोभिड संकटका समयमा युरोपेली युनियनबाट पहिलो सहयोगका लागि स्पेनलाई धन्यवाद दिइन् ।
कार्यक्रममा चर्चित नेपाली गायक कृष्ण काफ्ले तथा बाँसुरीवादक विनोद कटुवालले नेपाली गीत तथा बाँसुरी धुन प्रस्तुत गरेका थिए ।सो कार्यक्रममा दूतावासले नेपालका पर्यटन तथा संस्कृति प्रवद्र्धनका लागि पर्यटन बोर्डले तयार पारेको भिडियो सामग्री पनि प्रस्तुत गरेको थियो ।
झण्डै डेढ सय उपस्थित कार्यक्रममा विभिन्न देशका राजदूतहरु, महावाणिज्य दूत तथा विदेश मामिला मन्त्रालय। विश्व पर्यटन संगठन तथा विभिन्न कुटनैतिक संघ संस्थाका प्रतिनिधिसँगै प्रवासी नेपाली समुदाय, खेलाडि, व्यवसायी तथा सञ्चारमाध्यमलगायतको सहभागीता थियो ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ ०९:०२