काठमडौं - नेपाल राष्ट्र बैंकले दशैं, तिहारका लागि भदौ २६बाट नै नयाँ नोट दिने तयारी गरेकाे छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारका लागि लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको हाे ।
२६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जनाएका छन् ।
कहाँ-कहाँबाट नयाँ नोट साट्न सकिने भनेर २० भदौपछि मात्रै सूचना प्रकाशित गर्ने तयारी रहेको उनले बताए । काठमाडौं उपत्यका बाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत नै आवश्यकता अनुसार राष्ट्र बैंकको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने उनले बताए ।
प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने उनले बताए । ‘राष्ट्र बैंक्सँग साना दरका १० अर्ब भन्दा बढी नयाँ नोट मौज्दात छ, भने केही छपाई भएर आउने क्रममा छ,’ उनले भने, ‘गत वर्ष ८ अर्बको नयाँ नोट सटही भएको यो वर्ष केही कम माग हुन्छ भन्ने अनुमान छ, सोही अनुसार हामीले तयारी गरेका छौं ।’
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९ १३:१६