काठमाडाैं - पुन: नवनियुक्त अर्थमन्त्रीकाे पद तथा गोपनीयताको शपथ जनार्दन शर्माले लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मन्त्री शर्माले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिएका छन् ।
बजेट निर्माणको सिलसिलामा अपरिचित व्यक्तिलाई मन्त्रालयभित्र प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजिनामा दिएका थिए ।
यसै विषयमा छानविन गर्न संसदीय समिति गठन भएको र सो समितिले अर्थमन्त्री दोषी नभएको प्रतिवेदन संसदमा बुझाएसँगै शर्माको मन्त्री बन्ने बाटो खुलेको हो ।
नेकपा माओवादी केन्द्रले शर्मालाई पुन: अर्थमन्त्री बनाउने निर्णय गरेको थियो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायत उच्चपदस्थ पदाधिकारी र अधिकारीको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९ २०:३२