काठमाडौं - सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झण्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार एक वर्षमा एक हजार ८०७ वटा विद्युतीय चारपांग्रे सवारीसाधन नेपाल भित्रिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २६१ मात्रै विद्युतीय चारपांग्रे सवारी आयात भएकामा गत आर्थिक वर्ष उल्लेख्य मात्रामा वृद्धि भएको छ ।अघिल्लोे आर्थिक वर्षसम्म न्यून मात्रामा नेपाल भित्रने गरेको विद्युतीय गाडीमा सरकारले गत आर्थिक वर्षको बजेटमार्फत भन्सार र अन्तःशुल्कमा छुट दिएको थियो ।
सरकारले बजेटमार्फत नै भन्सार तथा अन्तःशुल्कमा छुट दिएपछि नेपाल भित्रने विद्युतीय गाडीको संख्यामा वृद्धि भएको व्यवसायी बताउँछन् ।भन्सार विभागले हालै सार्वजनिक गरेको एक वर्षको तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १६७ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६९६ गरी ८२३ वटा गाडी नेपाल भित्रिएका हुन् ।
चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६९६, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताको १३२ र फ्रान्सबाट एक वटा गाडी नेपाल भित्रिएका छन् ।
यस्तै बेलायतबाट १०० देखि १५० किलोवाट क्षमताका १३, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२ वटा, जापानबाट ७८, बेलायतबाट चार वटा गाडी नेपाल आएका छन् । बेलायतबाट २०० देखि ३०० किलोवाट क्षमताका चार र बेयालतबाटै ३०० क्षमताभन्दा माथिका दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
एक वर्षको अवधिमा एक हजार ८०७ वटा विद्युतीय गाडी नेपाल भित्रँदा एक अर्ब ४३ करोड ९२ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको विभागले जनाएको छ ।
सरकारले देशमा विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै डिजेल तथा पेट्रोलबाट सञ्चालित गाडी आयातमा रोक लगाउँदा तथा बजेटमा छुट दिँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको व्यवसायीले बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले डिजेल तथा पेट्रोलबाट सञ्चालित गाडीमा सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाउँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको जनाएको छ ।