काठमाडौं- मुलुकको व्यापार घाटा एक वर्षमै २३ प्रतिशतले बढेको छ । आयातको तुलनामा निर्यात न्यून हुँदा व्यापार घाटा चुलिएको हो । आयात निरन्तर बढ्दै जाँदा मुलुकको अर्थतन्त्रमा चुनौती थपिँदै गएको छ । विशेषगरी विदेशी मुद्रा सञ्चितिमा ठूलो दबाब परेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनअनुसार मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढेको यो आँकडा हालसम्मकै उच्च हो । आव २०७७/७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ बराबर थियो ।
विभागका अनुसार एक वर्षको अवधिमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६.१५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
गत आवको १२ महिनामा नेपालमा हुने आयात २४.७२ प्रतिशतले बढेको छ । उक्त अवधिमा कूल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको हो । विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । अर्कोतर्फ नेपालबाट हुने निर्यात ४१.७४ प्रतिशतले बढे पनि आयातको तुलनामा निकै न्यून रहेको छ । गत आवमा कूल दुई खर्ब तीन करोड नौ लाख रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
व्यापार घाटाको ६१ प्रतिशत हिस्सा भारतसँग
नेपालको अन्तर्राष्ट्रिय व्यापार विश्वका कूल १७१ मुलुकसँग हुने गरेको छ । तीमध्ये १६४ मुलुकबाट नेपालले वस्तु तथा सेवा आयात गर्ने गरेको पाइएको छ । यसैगरी नेपालबाट १३१ मुलुकमा वस्तु तथा सेवा निर्यात हुन्छ । नेपालको व्यापार हुने १७१ देशमध्ये १४० देशसँगको व्यापार घाटामा रहेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
गत आर्थिक वर्षमा नेपालले धेरै व्यापार घाटा व्यहोरेको १० मुलुकको सूचीमा दुई छिमेकी मुलुक भारत र चीनसहित क्रमशः इण्डोनेसिया, युएई, अर्जेन्टिना, अमेरिका, अस्ट्रेलिया, युक्रेन, मलेसिया र ब्राजिल रहेका छन् । यी १० देशसँग मात्र नेपालको व्यापार घाटा १५ खर्ब ६७ अर्ब १५ करोड ४७ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । यो उक्त आवमा भएको कूल व्यापार घाटाको ९१ प्रतिशत हो ।
भारतसँगको व्यापार घाटा सबैभन्दा धेरै रहेको छ । कूल व्यापार घाटामा भारतले ओगट्ने हिस्सा करिब ६१ प्रतिशत छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा भारतसँग नेपालले १० खर्ब ४४ अर्ब ९३ करोड चार लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । यो नेपालको कूल व्यापार घाटाको ६०.७१ प्रतिशत हो ।
पेट्रोलियम पदार्थसहित अधिकांश वस्तु भारतबाट आयात हुने भएकोले घाटामा भारतको हिस्सा बढी हुन पुगेको हो । नेपालले सबैभन्दा धेरै आयात गर्ने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ, जुन भारतबाट मात्र आयात हुन्छ । यसबाहेक खाद्यसामग्री, सवारीसाधन, निर्माण सामग्रीलगायत अधिकांश माल वस्तु भारतसँगै निर्भर रहनुपर्ने बाध्यता नेपालको छ ।
भारतपछि उत्तरको छिमेकी देश चीन नेपालको व्यापार घाटा हुने दोस्रो मुलुकको रुपमा रहेको छ । चीनसँगको व्यापार घाटा गत आवमा दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । सोही अवधिमा इण्डोनेसियासँग ५३ अर्ब २४ करोड ९७ लाख, युएईसँग ४७ अर्ब ४५ करोड ११ लाख र अर्जेन्टिनासँग ३९ अर्ब ६५ करोड २२ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको विभागको तथ्यांकमा उल्लेख छ ।
गत आवमा अमेरिकासँग ३२ अर्ब पाँच करोड ८४ लाख रुपैयाँ, अस्ट्रेलियासँग २३ अर्ब ३४ करोड तीन लाख, युक्रेनसँग २१ अर्ब २२ करोड ७६ लाख, मलेसियासँग १६ अर्ब ९१ करोड छ लाख र ब्राजिलसँग १२ अर्ब ४६ करोड ९५ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।
३१ देशसँगको व्यापार नाफामा
नेपालको वैदेशिक व्यापार ३१ देशसँग मात्र नाफामा रहेको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले व्यापार गरिरहेका कूल १७१ मध्ये ३१ देशसँगको व्यापार नाफामा देखिएको हो । तर, कूल व्यापारमा यसको हिस्सा न्यून रहेको छ ।
गत आर्थिक वर्षमा ती ३१ मुलुकसँगको व्यापारबाट नेपालले कूल ६४ करोड ४९ लाख रुपैयाँ नाफा गरेको छ । उक्त आवमा नेपालबाट ती देशमा कूल एक अर्ब २७ करोड २९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको तथ्यांक छ । सो अवधिमा ती मुलुकबाट नेपालले ६२ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।
विभागको तथ्यांकअनुसार डेनमार्कसँगको व्यापारबाट नेपालले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । गत आवमा डेनमार्कसँग नेपालले २२ करोड २७ लाख तीन हजार रुपैयाँ नाफा गरेको विभागले जनाएको छ । उक्त अवधिमा नेपालबाट डेनमार्कमा ७६ करोड ६४ लाख रुपैयाँ बराबरको निर्यात हुँदा ५४ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको तथ्यांक छ ।
डेनमार्कसँगै नेपालको व्यापार नाफामा रहेका १० मुलुकमा कम्बोडिया, अल्जेरिया, नाइजर, गिनी, न्यु क्यालेडोनिया, माल्दिभ्स, अफगानिस्तान, मध्य गणतन्त्र अफ्रिका र यमन रहेका छन् । गत आवमा कम्बोडियासँगको व्यापारबाट १६ करोड ९१ लाख, अल्जेरियासँग छ करोड ४६ लाख, नाइजरसँग पाँच करोड २५ लाख, गिनीसँग दुई करोड ४० लाख, न्यु क्यालेडोनियासँग दुई करोड २४ लाख, माल्दिभ्ससँग दुई करोड दुई लाख, अफगानिस्तानसँग एक करोड ३६ लाख, मध्य गणतन्त्र अफ्रिकासँग ९८ लाख र यमनसँग ७९ लाख रुपैयाँ बराबरको नाफा नेपालले प्राप्त गरेको तथ्यांक छ ।
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो सवा तीन खर्ब
एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले भारतबाट तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको हो ।
उक्त अवधिमा सबैभन्दा बढी डिजेल आयातमा एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख रुपैयाँभन्दा बढी नेपाली मुद्रा बाहिरिएको छ ।यसैगरी ७१ अर्ब ३८ करोड ८२ लाख रुपैयाँ बराबरको पेट्रोल, ६५ अर्ब ५५ करोड नौ लाख रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास र १५ अर्ब १५ करोड ४९ लाख रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको तथ्यांक छ ।
एक वर्षको अवधिमा एक खर्ब १३ अर्ब रुपैयाँ बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, ५२ अर्ब रुपैयाँ बराबरको मोबाइल र ल्यापटप, ४८ अर्ब रुपैयाँको सुनचाँदी र ७३ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।
नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । एक वर्षको अवधिमा ४८ अर्ब १२ करोड रुपैयाँ बराबरको प्रशोधित भटमासको तेल, ४१ अर्ब ६४ करोड रुपैयाँ बराबरको प्रशोधित पाम तेल, १० अर्ब १४ करोड रुपैयाँ बराबरको सेन्थेटिक यार्न, सात अर्ब ७१ करोड रुपैयाँ बराबरको उनीका सामग्री तथा पाँच अर्ब ७६ करोड रुपैयाँ बराबरका तयारी कपडाको निर्यात भएको विभागले जनाएको छ ।
नेपालको व्यापार घाटा धेरै रहेका १० देश (रु. हजारमा)
भारत- १०४४९३०४२४
चीन- २६३९७४९५९
इण्डोनेसिया- ५३२४९७१६
युएई- ४७४५११०२
अर्जेन्टिना- ३९६५२२७५
अमेरिका- ३२०५८४५९
अस्ट्रेलिया- २३३४०३६५
युक्रेन- २१२२७६३०
मलेसिया- १६९१०६६९
ब्राजिल- १२४६९५९५
यी हुन् नेपालको व्यापार नाफामा रहेका १० मुलुक (रु. हजारमा)
डेनमार्क- २२२७०३
कम्बोडिया- १६९१७४
अल्जेरिया- ६४६८०
नाइजर- ५२५६७
गिनी- २४००४
न्यु क्यालेडोनिया- २२४६३
माल्दिभ्स- २०२७९
अफगानिस्तान- १३६३७
मध्य गणतन्त्र अफ्रिका- ९८४४
यमन- ७९४७