काठमाडौं-पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले चिया निर्यात गरेर नेपालले आर्थिक उपार्जन गर्नसक्ने बताएका हुन् ।
उनले भने, ‘चियाको गुणस्तरमापका लागि तत्काल स्वदेशमा नै यन्त्र स्थापना गर्नुपर्छ । चिया कारखाना बनाउन चाहनेलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।’
सांसद खनालले चिया बगान निर्माणलाई राज्यले उच्च प्राथमिकतामा राखी चिया विकास बोर्डको भूमिका प्रभावकारी बनाउन र साना चिया किसानलाई कारखाना खोल्न सहकारीमार्फत प्रोत्साहन गर्नुपर्ने बताए ।
‘नेपाली चियाको इतिहासमा इलामलाई बिर्सन हुँदैन, बढीभन्दा बढी किसानलाई चिया खेतीमा लाग्न प्रोत्साहन गर्नुपर्छ’, उनले भने, ‘चियाको उत्पादन, संकलन र प्रशोधनमा लागेका उद्यमीलाई पनि राज्यले सहयोग गर्नुपर्छ ।’
सांसद खनालले १६ हजार साना किसान चिया खेतीमा संलग्न रहेको उल्लेख गर्दै इलाममा चियाको सङ्ग्रहालय बनाउनुपर्ने मागसमेत गरे ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ १६:२५