न्युयोर्क (अमेरिका- आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो। यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ।
तर, यहाँ मंगलबारदेखि संयुक्त रास्ट्रसंघको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहोल भने तात्दै छ। उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने रास्ट्रसंघका प्रवक्ताले यस अगाडि जानकारी दिइसकेका छन्।
यतिखेर न्युयोर्क सहरका अधिकांश होटलहरु भरिभराउ छन्। होटलका परिसर तथा वरपरसमेत महासभामा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधिहरुको चहलपहल देखिन्छ। विभिन्न देशका र अमेरिकाकै पनि अन्यत्र ठाउँबाट आएका मिडियाकर्मीहरुको पनि यतिखेर यहाँ भिडभाड देखिन्छ। रास्ट्रसंघयको महासभाको समाचार संकलनका लागि उनीहरु खटिएर आएका र आफ्ना काम सुरु गरिसकेका छन्।
समाचारमा जनाइएअनुसार सोमबार नै अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन डिसीबाट न्युयोर्क आइपुग्ने कार्यतालिका रहेको छ। यसैगरी इजरायलका प्रधानमन्त्री वेन्जामिन न्यातन्याओलगायतका नेताहरु न्युयोर्क आइपुग्दै छन्।
विश्वभरिका शासकदेखि प्रशासकसम्म अभियन्तादेखि पत्रकारसम्म अमेरिकाको वित्तीय राजधानी रहेको न्युयोर्कमा आगामी १० दिनसम्म खचाखच रुपमा भरिने छन्। विदेशी विशिस्ट पाहुनाहरु र त्यसमाथि पनि सरकार प्रमुखहरुको बसाइ यही एक माइलभित्र रहेका सुविधा सम्पन्न र विश्वकै महंगा होटलहरुमा रहने गरेका छन्। तीमध्ये मिलेनियम हिल्टन न्युयोर्क वान युएन प्लाजा, द वेस्टटिन न्युयोर्क ग्राण्ड सेन्ट्रल वालड्रफ अस्टोरिया न्युयोर्क, हयाट ग्राण्ड सेन्ट्रललगायतका होटेलहरुमा बुकिङका लागि बन्द गरिएको छ। यस अगाडि बुकिङ भइसकेका या कतिपय मिशनहरु (रास्ट्रसंघका लागि दूतावास) अग्रिम बुकिङ गरिसकेका छन्।
यतिखेर ती होटलका कर्मचारीहरुलाई भ्याइनभ्याइ रहेको देखिएको छ। उनीहरु पनि पाहुनाहरुको सहयोगका लागि तत्परताका साथ लागिपरेका देखिन्छन्। उनीहरु कुनै पनि पाहुनाको लागि सहयोग गर्न उत्तिकै तयारी अवस्थामा रहेका छन्। त्यसो त न्युयोर्कको पर्यटन सिजन समर भए पनि सेप्टेम्बरदेखि डिसेम्बरसम्म निकै चहल पहल देखिन्छ।
अहिले रास्ट्रसंघको मुख्यालयमा वरिपरि पैदल हिँड्न बन्द गरिएको छ भने न्युयोर्क पुलिसले ठूलो संख्यामा क्याडेट परिचालन गरिसकेको छ। यहाँ वरपर भारी संख्यामा ब्यारियरहरु राखिएको छ। उच्चस्तरीय सप्ताह भएकाले कारगेड, स्कर्टिङ गर्नेदेखि पाहुनाहरुलाई होटल र एयरपोर्टसम्म पुर्याउन कतिपय बाटोहरु एकतर्फी आवागमन र कतिपय बन्द गरिएको छ। रास्ट्रसंघले नै भिजिटरहरुको लागि अक्टोबर १२ सम्मलाई बन्द गरेको छ।
यहाँ आवागमनका लागि बाटोहरु बन्द भएपनि सर्वसाधारणका लागि भने अण्डर ग्राउण्डबाट चल्ने रेलवे सिस्टम भएकाले आफ्ना काममा आवात जावत गर्न लागि गाह्रो हुँदैन।
मुख्यरुपमा मिड म्यान हटन, युनाइटेड नेशन हेडक्वार्टर लगायतका सडक बन्द गरेर सार्वजनिक कार्यक्रमहरुको अयोजना गर्न पनि रोक लगाइएको छ। न्युयोर्क सिटीकी पुलिस कमिशनर जेसिका टिश्चले संवाददाताहरुसँग कुरा गर्दै भनिन्- न्युयोर्क पुलिस डिपार्टमेन्ट पूर्णरुपमा तयार र सतर्क रहेका छौँ।
न्युयोर्कको एक स्थानीय होटलमा कार्यरत समिर पाँडेका अनुसार यहाँका होटलहरुमा सबैभन्दा व्यस्त सिजन सेप्टेम्बर नै हो, तर हामीहरुलाई महासभामा भाग लिन आउनेहरुको विषयमा स्पेशल भनेर भनिएको हुँदैन। उनका अनुसार यो समयमा होटेलहरुको उच्च दरको वुकिङ भएकाले मूल्य पनि महँगो पर्ने हुन्छ। त्यसैले तीन महिना अगाडि बुकिङ गरेको खण्डमा किफायति मूल्यमा होटल प्राप्त गर्न सकिन्छ।
म्यानहटनमा नै खुद्रा पसल चलाएर बसेका ओमप्रकाश खण्डेवाल यो समयमा उपहारका सामानहरुको व्यापार बढी हुने बताउँछन्। उनले विगत एक दशकमा सेप्टेम्बर महिनामा जहिले पनि व्यापार वढी हुने तथ्यांक आफूसँग रहेको बताए।
न्युयोर्कमा नै बसेर उवर चलाउँदै आएका तिलक गुरुङका अनुसार यो सिजनमा धेरै स्थानमा अवरोध हुने भएकाले छोटो यात्रालाई पनि लामो समय लाग्ने, अन्तिम समयमा रुट परिवर्तन गराइदिने गरेकाले हैरानी त हुन्छ। गुरुङका अनुसार यो समयमा सबवे (रेल) बाट यात्रा गर्दा धेरै सजिलो र किफायति हुन्छ।
संयुक्त रास्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी महासभा आगामी २९ सेप्टेम्बरसम्म जारी रहने छ। यसपटकको महासभाको “विश्वासको पुनर्स्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त रास्ट्रसंघ” भन्ने नारा रहेको छ।
नेपालको तयारी
न्युयोर्कस्थित नेपालको संयुक्त रास्ट्रसंघका लागि स्थायी नियोगका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महासभाको ८१औँ सेसनलाई २४ सेप्टेम्बरमा सम्बोधन गर्ने छन्। यस सम्बोधनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। यसैगरी पररास्ट्रमन्त्री शिशिर खनाल सोमबार महासभामा भाग लिनका लागि न्युयोर्क आइपुग्ने छन्।
भोटेकोशी बाढीका कारण नेपालले निकै ठूलो क्षति व्यहोर्नुपरेकाले यस पटकको महासभामा नेपालमाथि नै विश्वको ध्यान पुग्ने देखिएको छ। त्यसैले पनि यो महासभामा नेपालको सहभागिता र उपस्थिति महत्त्वपूर्ण रहेको छ।
महासभाको एक मुख्य एजेण्डा नै जलवायु परिवर्तन हो। यसलाई नेपालले मुख्य रुपमा प्रभावित देशको उदाहरण सहित आफनो आवाजलाई बलन्द बनाउन सक्ने छ। एकातिर विश्व जगतले समुन्द्रको सतह बढ्ने र त्यसले मानवीय, ऊर्जा, पूर्वाधारको क्षति बढाउने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्। अर्कातर्फ विश्वका उच्च शिखरहरुमध्ये नेपालका आठ शिखर पग्लिदै गएर अन्तत्वगत्वा समुद्र सतह वृद्धि नै हुने छ। त्यसैले नेपालले आयोजना गर्ने ‘सगरमाथा टु दि सी लेभल’ भन्ने नाराका साथ ‘साइडलाइन इभेन्ट’ महत्त्वपूर्ण हुने नै छ।
त्यसमाथि नेपालले हरित ग्यास उत्सर्जनमा कम योगदान तर क्षतिमा बढी व्यहोर्नुपरेकाले हानि नोक्सानीको विषयमा पनि विश्वको ध्यान आकर्षित गर्ने नै छ। विश्वका विकसित देशहरुले यसमा योगदान गर्ने कोष बढाउन दबाब दिने यो समय उपयुक्त भएकाले रास्ट्रसंघका अधिकारीहरु नै यसलाई जोडतोडका साथ उठाइरहेका छन्।
संयुक्त रास्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले देशहरु र मानिसहरुको जीवनमा पार्ने असर निकै खराब हुँदै गएको र यसको पछिल्लो प्रमाण नेपालको घटना हो भनेका थिए।
गत बुधबारमात्रै पनि संयुक्त रास्ट्रसंघको मुख्यालय न्युयोर्कमा ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सुरु हुन लागेको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले उक्त धारणा राख्नु भएको हो।
संवाददाताहरुले उच्चस्तरीय बैठकहरुमा नेपालमा हालै आएको विपद् र विश्वव्यापी तापक्रम वृद्धिको सम्वन्धमा कुनै ठोस नतिजाको अपेक्षा गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ दिँदै महासचिव गुटेरेसले अगाडि थपे– तीन वर्ष अगाडि म अन्नपूर्ण र सगरमाथाका हिमनदीहरुमा गएको थिएँ, त्यति बेला नै मैले भनेको थिएँ कि अवस्था निकै खराब हुँदै गइरहेको छ र कुनै पनि विनाशकारी घटना घट्न सक्छ र अहिले त्यस्तै भएको छ।
महासचिव गुटेरेसले जलवायु परिवर्तनले देशहरुको अवस्था अझै विग्रन सक्ने भन्दै सचेत रहनसमेत आग्रह गरेका छन्। यसैले यसपटकको महासभामा नेपालले जलवायु न्याय के कति मात्रामा प्राप्त गर्न सफल हुन्छ भन्ने त भविष्यको विषय हो तर नेपालले आफ्नो भनाइ राख्नका लागि उपयुक्त अवसर भने अवश्य प्राप्त गरेको छ। आशा गरौँ अरु महासभा भन्दा नेपालले यो महासभाबाट बढीभन्दा बढी लाभ लिन सफल होस्।
समयमा नै सचेतता नअपाउने हो भने सेप्टेम्बरमा सिमसिम परेको पानीजस्तै झन् बढ्दै जाने र दुई दशकपछि हिमपात भएर रास्ट्रसंघको महासभालाई नै अवरोध पुर्याउने पो हो कि ? त्यसैले जलवायु परिवर्तनजस्तो गम्भीर समस्याले विश्वको मानचित्रमा नै धक्का दिने भएकाले यसमा विश्वभरका सरकार प्रमुखहरुले प्रतिवद्धताअनुसारको काम गरेर भावी पिँढीका लागि सवल र सक्षम पृथ्वी हस्तान्तरण गर्न सफलता मिलोस्। रासस