एएनआई- माल्दिभ्सका पूर्व विदेशमन्त्री अब्दुल्ला शाहिदलाई १८ वर्षमुनिका बालकलाई यौन दुर्व्यवहार गरेको आशङ्कामा प्रहरीले पक्राउ गरेको छ। माल्दिभ्स प्रहरीले सोमबार राति अदालतको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार ६४ वर्षीय शाहिदलाई नोभेम्बर २ अर्थात् सोमबार राति ९ बजेर ५९ मिनेटमा मालेस्थित एच राबी मन्जिलबाट पक्राउ गरिएको हो। प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
पक्राउपछि शाहिदले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन्। उनले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले राजनीतिक रूपमा फैलाइएका दाबी निराधार र झुटा भएको बताउँदै अप्रमाणित आरोप प्रचार नगर्न सबैलाई आग्रह गरेका छन्। सन् २०२८ मा हुने निर्वाचनअघि विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) बाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावित प्रमुख नेताका रूपमा शाहिदलाई हेरिएको थियो। उनले संयुक्त राष्ट्रसङ्घको महासभाका पूर्वअध्यक्षसमेत हुन्।
शाहिद माल्दिभ्सका अन्तर्राष्ट्रिय स्तरमा परिचित राजनीतिक नेतामध्ये एक हुन्। उनले पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको कार्यकालमा सन् २०१८ देखि २०२३ सम्म विदेशमन्त्रीका रूपमा काम गरेका थिए। सन् २०२१-२२ मा उनले संयुक्त राष्ट्रसंघको महासभाको ७६औँ सत्रको अध्यक्षता गरेका थिए।
उनले माल्दिभ्सको संसद् पिपुल्स मजलिसको अध्यक्षका रूपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए। त्यस्तै, सन् २०२४ को फेब्रुअरीदेखि २०२६ को अगस्टसम्म एमडीपीको नेतृत्व गरेका थिए। पार्टीको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीस्वरूप उनले नेतृत्वबाट राजीनामा दिएका थिए।
गत महिना शाहिद नयाँदिल्लीमा आयोजित ‘बियोन्ड बोर्डर्स लिटरेचर फेस्टिभल २०२६’ मा सहभागी भएका थिए। उनलाई ‘स्पेस वी कल होम : डायस्पोरा एन्ड बिलंगिङ’ शीर्षकको सत्रको अध्यक्षता गर्न आमन्त्रण गरिएको थियो। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। शाहिदमाथि लगाइएको आरोप पुष्टि भइसकेको छैन।