काठमाडौं– भोजपुर जिल्लास्थित विद्यालय भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा घुस/रिसवत लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आरोपपत्र दायर गरिएकाहरूमा सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटाका तत्कालीन इञ्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सबइञ्जिनियर रविन श्रेष्ठ रहेका छन्।
आयोगका अनुसार उनीहरूले विद्यालयको नयाँ भवन निर्माण कार्यको बिल भुक्तानीका क्रममा विभिन्न प्राविधिक समस्याहरू देखाई दुःख–हैरानी दिँदै सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस माग गरेका थिए। पूर्वयोजनाबमोजिम आपसमा रकम बाँडीचुढी लिने–खाने सहमति अनुसार ५० हजार रुपैयाँ सबइञ्जिनियर श्रेष्ठको बैंकको क्युआरमार्फत दाखिला गर्न लगाइएको थियो। बाँकी ८५ हजार रुपैयाँ इञ्जिनियर राईले नगदै बुझेका थिए।
सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टंगालस्थित टोलीले इञ्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको थियो। त्यसैगरी, आयोगको इटहरी कार्यालयको टोलीले लेखा अधिकृत कार्की र सबइञ्जिनियर श्रेष्ठलाई धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर पुष्टि भएकाले उनीहरू तीनै जनालाई एक लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्। साथै, ऐनबमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको उनको भनाइ छ।